इटहरीः नेप्ली मिडिया प्रा.लि.द्वारा प्रकाशित ‘इतिहासमा इटहरी’ नामक पुस्तकको आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा पूर्वमन्त्री रामकुमार सुब्बा, १ नम्बर प्रदेशका प्रदेशसभा सदस्य तथा इटहरीका पहिलो मेयर सर्वध्वज साँवा, इटहरीका वर्तमान नगरप्रमुख द्वारिकलाल चौधरीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका छन् । सो पुस्तकमा एक सय २५ जनाभन्दा बढी अग्रज इटहरीवासीको अनुभव, चार सय २५ वटा भन्दा बढी तस्बीर, नक्सा, स्केच तथा दस्तावेजहरु र दुई सयभन्दा बढी व्यक्ति तथा संस्थाहरुको सहयोग रहेको नेप्ली मिडियाका सञ्चालक हिमाल दाहालले जानकारी दिए । यो पुस्तक निर्माणमा धेरैले ५ वर्षभन्दा लामो समयसम्म मेहनत रहेको सञ्चालक दाहालले जानकारी दिए । विमोचन कार्यक्रममा बोल्दै इटहरीका नगरप्रमुख द्वारिकलाल चौधरीले ‘इटहरीले ठूलो बौद्धिक सम्पत्ति’ प्राप्त गरेको प्रतिक्रिया दिएका छन् ।

itihasa_ma_itahari

अग्रज सृष्टाहरुको भोगाइ समेटिएकाले यो पुस्तकले इटहरीवासी र इटहरीबाहिर रहेकालाई इटहरी चिनाउन सहज भएको मन्त्री सुब्बा र प्रदेशसभा सदस्य सावाँले बताए । पुस्तकको विमोचन आज भए पनि खरिदका लागि यसअघि नै प्री बुकिङ खुलाइएको थियो । सो पुस्तक व्यक्तिगत एक हजार र संस्थागत रुपमा खरिद गर्दा २ हजार रुपैयाँ मूल्य तोकिएको सञ्चालक दाहालले जानकारी दिए । विमोचन कार्यक्रममा पुस्तक निर्माणको क्रममा सहयोग गर्ने इटहरीका अग्रज पत्रकार कृष्णविनोद लम्साल, राजनीतिकर्मी रमेश विष्ट र संगीतकार राजु केसीसहित अन्य प्राविधिक तथा व्यवस्थापकीय रुपमा सहयोग गर्नेलाई सम्मान पनि गरिएको थियो ।