इटहरीः झापाको अर्जुनधारा नगरपालिका ५, शान्ति चौकबाट प्रहरीले विदेश पठाइदिने प्रलोभन दिई रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका ९ घर भई हाल काठमाडौँ महानगरपालिका ३१, तिनकुने बस्ने ५९ वर्षीय लालबहादुर कार्की रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता नवीनराज राईका अनुसार अभियुक्त कार्कीउपर पाँचथरको तुम्बेवा गाउँपालिका ५ हाङ्गुम बस्ने ३० वर्षीय ध्रुवकुमार राईलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका चालिस लाख रुपैयाँ लाग्छ र अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलब हुने जागिर लगाइदिन्छु भनी प्रलोभनमा पारी उनीबाट एघार लाख पचास हजार रुपैयाँ ठगी गरेको आरोप छ । वैदेशिक रोजगार विभागबाट पक्राउ गर्न पत्राचार भए अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।