इटहरीः सुनसरीको कोशी गाउँपालिका २ स्थित भित्री पक्की सडकखण्डमा उत्तरबाट दक्षिण आउँदै गरेको को २ ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टँदा सफारीमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

हिजो साँझ ५ः०० बजे भएको दुर्घटनाबाट सोही स्थानका ७४ वर्षीय फरेबी यादव र बराहक्षेत्र ११ की २३ वर्षीया सबिना माझी घाइते भएका थिए । घाइतेमध्ये यादवको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा राति ११ः४५ बजे मृत्यु भएको थियो भने माझीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार दुर्घटना गराउने सिटी र चालक कोशी गाउँपालिका २ का २० वर्षीय रंजित यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।