इटहरीः प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले ब्यान भर्सेस ब्राण्ड प्रदेश सरकारको गौरवको योजना भएको बताएकी छन् । उनले सामाजिक विकास मन्त्रालयले व्याण्ड भर्सेस ब्राण्डको नेतृत्व गरेपनि यो प्रदेशको गौरवको योजना भएको बताइन् ।

सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्रान्डिङ तथा बजारीकरणका लागि गठन गरेको ब्यान भर्सेस ब्राण्ड अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री राईले सो कुरा बताएकी हुन् । उनले प्रदेश १ मा रहेको श्रोत साधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै ब्यान भर्सेस ब्राण्ड अवधारणा ल्याइएको बताइन् । कानूनी अड्चनहरुलाई हटाउँदै अवधारणालाई कार्यन्वयन गर्नुपर्ने मन्त्री राईले बताइन् । प्रतिवेदन ग्रहण गर्दै उनले भनिन्,‘ समृद्धिको ढोका प्रदेश १ सरकारले खोल्यो ।’

photo 1 (2)

प्रदेश सरकारले कोदो उत्पादन हुने स्थानको छनौट गरेर कोदो लगाउन सुरु गर्ने मन्त्री राईको भनाइ छ । उनले वनमारा मासेर कोदो लगाइने बताइन् । मन्त्री राईले भनिन्,‘ गाउँपाखामा रहेको वनमारा उखेलेर कोदो रोपिनेछ ।’ सामाजिक विकास मन्त्री राईले नेपालको उत्पादनलाई छिमेकी देशहरु भारत र चीनमा लगेर बजारीकरण गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘विदेशीहरु नेपाली उत्पादन खोजेर बसेका छन् , हामी दिन सकिरहेका छैनौँ ।’ ब्यान भर्सेस ब्राण्ड समाजवादको सुत्रधारसमेत रहेको बताउँदै उनले सयौँ योजनाहरु यसमा रहेको बताइन् ।

नेपाली घरेलु मदिराको उत्पादन सुरु भएपछि यो विश्वमा उत्पादितभन्दा सयौँ गुणा राम्रो गुणस्तरको हुने उनको दाबी छ । उनले गुणस्तरीय उत्पादनका लागि वैज्ञानिक, प्राविधिक, औद्योगिक क्षेत्र, कानुन विज्ञ लगायतको टोली निर्माण गरिने जानकारी दिइन् । कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूणै लोक्सोमले ब्यान भर्सेस ब्राण्ड बृहत अवधारणा भएको बताए । उनले १० जिल्लाका दुई सय २९ घरेलु मदिरा उत्पादकहरु, जनप्रतिनिधिलगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको बताए ।