इटहरीः झापाको बाह्रदर्शी गाउँपालिका ७ सिमल चौकस्थित भित्री सडक खण्डमा कारको ठक्करबाट स्कुटीमा पछाडि सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपलिका घर भई हाल कंकाईमाई नगरपालिका ८ डेरा गरी बस्ने ३२ वर्षीया सरस्वति मगर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार

हिजो राति १०ः३० बजे उत्तरतर्फ जाँदै गरेको प्रदेश–१ –०१–०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १–०१–००१ च ७२७७ नम्बरको कारले पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा स्कुटी चालक बाह्रदर्शी गाउँपालिका ७ की २८ वर्षीया प्रमिता कार्की र पछाडि सवार सरस्वति घाइते भई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याउनासाथ सरस्वतिको मृत्यु भएको थियो भने कार्कीको उपचार भइरहेको छ ।

दुर्घटना गराउने कार र चालक इलामको जोगमाई २ का २४ वर्षीय जंगबहादुर बस्नेत इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका छन् ।