इटहरीः बुद्धभूमि हाइड्रोपावर कम्पनीले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा सँस्थापक शेयर धनीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेको हो । निष्कासन बन्द छिटोमा भदौ १४ गते हुनेछ भने ढिलोमा भदौ २९ गते हुनेछ । आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका नुवाकोटस्थित शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।