इटहरीः साइकल यातायातका साधनमध्ये सरल र सुलभ मानिन्छ । विशेषगरी तराईमा लोकप्रिय साइकल अहिले नेपालका पहाड तथा हिमाली क्षेत्रमा पनि प्रयोग हुन थालेको छ । विभिन्न आकार, ढाँचा, बनावटमा मात्र होइन, मूल्यका हिसाबले पनि साइकल फरक पाइन्छ । साइकलाई सामान ओसारपसार, यात्रा गर्न र पछिल्लो समय व्यायामको विकल्पको रुपमा पनि प्रयाग गर्न थालिएको छ । इतिहासलाई पल्टाएर हेर्ने हो भने साइकल १९ औँ शताब्दीको सुरुवातमा आविष्कार भएको पाइन्छ । तपाईँमध्ये धेरैले प्रयोग गर्ने गरेको भए पनि साइकल कसले बनायो होला ? पहिलो पटक कस्तो थियो होला भन्ने जिज्ञासा तपाईँमा होला । यी जिज्ञासाहरु हामी मेटाउने छौँ ।
१. कसले साइकल बनायो ?
जब हामी साइकल बनाउने वा आविष्कार गर्नेको मानिसको खोजी गर्छौँ, तब जर्मन नागरिक कार्ल वन ड्राइसको नाम आउँछ । उनले नै सन् १८१७ मा पहिलो पटक दुई पाङ्ग्रे मानिस चढेर कुदाउन मिल्ले एक वस्तु बनाएका थिए । उक्त साइकल आकारको वस्तु उनले काठको प्रयोग गरेर बनाएका थिए । आश्चर्यको कुरा त के भने यसमा न ‘पाइडल’ थियो न त ब्रक र चेन नै । यो साइकल कुदाउँदा सवार हुनेले भुइँमा प्रेसर दिएर कुदाउनु पथ्र्यो । उनको आविष्कारलाई सुरुमा ‘कुद्ने मेसिन’, ‘भेलोसिपेडी’ अर्थात् वेग, ‘हब्बि हर्स’ जस्ता नाम दिइएको थियो । पहिलो पटक साइकल बनाएकाले उनलाई नै ‘फादर आफ साइकल’ अर्थात् साइकलका पिता भनेर चिनिन्छ ।
२. कहिले साइकलको आकृतिमा परिणत भयो ?
सन् १८६० को दशकसम्म पनि आज तपाईँ हामीले चढ्ने आकृतिको साइकलको डिजाइन भएको थिएन । झण्डै ४ दशकभन्दा बढी समयसम्म ड्राइसले बनाएको साइकल आकृतिको वस्तु नै साइकलको रुपमा प्रयोग हुन्थ्यो । १८६० को दशकतिर फ्रान्सेली आविष्कारक पियरे लालमेन्ट, पियरे माइकाक्स, र अर्नेस्ट माइकाक्सले पाइडलसहितको साइकल बनाउने काम सुरु गरे । उनीहरुले त्यो बेला साइकलको अगाडिपट्टिको पाङ्ग्रामा पाइडल जडान गरेर कुदाए । उनीहरुले साइकलको अगाडिपट्टिको पाङ्ग्रा ठूलो र पछाडिको सानो बनाए । यस्तै ह्यान्डल र सानो बस्न मिल्ने सिट पनि बनाए । जसलाई उनीहरुले ‘बोनसेकर’ नाम दिए । जुन सन् १८८०–१८९० को दशकमा बन्द भयो । पछि सन् १८८४ मा जर्मन नागरिक थोमस स्टिभेन्सले साइकलमा विश्व यात्रामा निस्किएर यसलाई पुनः परिचित गराए ।
३ .‘बोनसेकर’ कसरी साइकलमा परिणत भयो ?
‘बोनशेकर’, साइकल आविष्कारको टर्निङ प्वाइन्ट भएपनि यसलाई कुदाउन मुस्किल थियो । यो साइकल ४ फिट अग्लो थियो । जुन कुदाउन अप्ठ्यारो मात्र होइन, असुरक्षित पनि भयो । यही कुरालाई मध्यनजर गर्दै डिजाइनर जोन केम्प स्टारले मजबुद, सुरक्षित तथा कुदाउन सजिलो साइकलको डिजाइन गरे, जसलाई उनले ‘रोभर’ नाम दिए । त्यो समयमा उनको यो आविष्कारलाई साइकलको विकासमा ठूलो प्राप्तिका रुपमा लिइएको थियो । उनले आविष्कार गरेको साइकलमा, बराबर आकारका दूई वटा पाङ्ग्रा, एउटा चेन, टायर र ब्रेकको प्रयोग भएको थियो । जसले गर्दा यो साइकल कुदाउँदा सजिलो र सुरक्षित भयो । सन् १८९० को दशकमा युरोप र अमेरिकी देशहरुमा यो साइकल नयाँ फेसनका रुपमा खुब प्रयोग भयो । त्यस्तै, उनले सन् १८८९ मा पहिलो पटक महिलाले चढ्न मिल्ने साइकल पनि बनाए ।
४.‘युनिसाइकल’को आविष्कार कहिले भयो ?
साइकलको सोख र प्रयोगकर्ता बढेसँगै यसको आकार र प्रकारमा पनि परिर्वनको प्रयास सुरु भयो । साइकल काममा मात्र नभएर खेल र रमाइलोका लागि पनि प्रयोग हुन थालेपछि सोही अनुरुपका साइकलको आविष्कार हुन थाले । यसै कारण एकचक्के साइकलको आविष्कार भयो, जसको नाम ‘युनिसाइकल’ राखियो । यो सन् १८६९ मा आविष्कार भएको थियो । एउटा मात्र चक्का भएकाले अन्य साइकलभन्दा यो कुदाउन असहज थियो । यसका साथै अन्यभन्दा यो असुरक्षित मानियो ।
५. कहिले भयो विद्युतीय साइकलको आविष्कार ?
‘बोनसेकर’लाई साइकलमध्येकै पहिलो आरामदायी र सुरक्षित मानिन्छ । यसलाई परिमार्जन गरी विभिन्न अन्य साइकलहरु पनि आविष्कार भएका छन् । के विद्युतीय साइकल ‘बोनसेकर’ साइकलको आधुनिक स्वरुप हो भनेर धेरैलाई जिज्ञासा पनि लाग्न सक्छ । यो साइकल ‘बोनसेकर’ कै आधुनिक स्वरुप हो भन्दा फरक पर्दैन । किनभने यसमा मानिसको सुरक्षालाई सर्वोपरि मानिएको छ । तर, ‘बोनसेकर’ भन्दा यो केही परिमार्जित र परिष्कृत छ । यसको आविष्कार सन् १८९५ डिसेम्बर ३१ मा अमेरिकी आविष्कारक ओग्डेन बोल्टन जुनियरले गरेका हुन् । बोल्टनले उक्त साइकलमा १० भोल्टको ब्याट्रि र १०० एमपीएसको मोटर जडान गरेका थिए । सन् १८८९ मा आष्किारक होसीय डब्लू लिब्बेले दुई वटा मोटरजडित साइकलको आविष्कार गरे । सन् १८९० पछि यो साइकलको उत्पादन निरन्तर भएको पाइन्छ ।
६. विश्वमा कति प्रकारका साइकल छन् ?
अहिले विज्ञान र प्रविधिको युगमा प्रत्येक दिन नयाँ कुराको आविष्कार र परीक्षण भइरहेको हुन्छ । त्यसैले अहिले कति प्रकारका साइकल हामी प्रयोग गर्छौँ भनेर भन्न मुस्किल छ । यहाँ विभिन्न प्रकार र रुप रंगका साइकल प्रयोग भएको पाइन्छ । उदाहरणको लागि ‘माउन्टेन बाइसाइकल’, ‘रोड बाइसाइकल’, ‘व्रmुजर’, ‘टेन्डिमस’, ‘विएमएक्स’ इत्यादिलाई लिन सकिन्छ । यस्तै फरक देश र भुगोलमा फरक फरफ प्रकारका साइकल पाइन्छ । जसले गर्दा विश्वमा यति नै प्रकारका साइकल छन् भनेर किटान गर्न मुस्किल छ । यस्तै विभिन्न कम्पनीका साइकल पनि विश्वमा प्रचलनमा रहेका छन् । यसले पनि साइकल संख्या गन्तिमा प्रभाव पार्छ ।