इटहरीः तेह्रथुमको सोरुङा खोलामा जलविद्युत् आयोजना निर्माण गरिरहेको तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी भदौ ९ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । भदौ ९ गतेदेखि खुल्ने आईपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ भने तोकिएको अवधिसम्ममा शेयर बिक्री नभए ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिने समय लम्बिन सक्नेछ । कम्पनीले कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएको छ भने ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ ।

बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका शेयर माग गरी आवेदन दिन सक्नेछन् । कम्पनीले शेयर बिक्रीका लागि एनआईबीएलएस क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासनमा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले ४ लाख कित्ता शेयर पाइसकेका छन् । इक्रा नेपालले यो कम्पनीको आईपीओलाई ग्रेड फोर प्लसको रेटिङ दिएको यस कम्पनीले ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।