इटहरीः आइतबारको शेयर बजारमा नेपालको शेयर बजारमै कारोबार रकमका हिसाबले नयाँ रेकर्ड कायम भएको छ ।
साताको पहिलो दिन नेपालको पूँजी बजारमै सबैभन्दा धेरै २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । बजारमा लगानीकर्ताको खरिदबिक्री चाप बढेसँगै नेप्से परिसूचक भने केही घट्न पुगे पनि कारोबारका हिसाबले ऐतिहासिक रेकर्ड कायम गर्न सफल भएको हो । यस दिनको नेप्से परिसूचक भने २१ दशमलव ८८ अङ्कले घटेको छ । राष्ट्र बैंकबाट शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि भएको यो पहिलो कारोबार हो । नीतिमा एक जना व्यक्तिले अधिकतम १२ करोड रुपैयाँ मात्र शेयर कर्जा लिन पाउने व्यवस्था गरिएका कारण बजार बढ्न नसकेको लगानीकर्ताहरुले विष्लेशण गरेका छन् तथापि, साना लगानीकर्ताले भने बजारलाई त्यो रुपमा हेरेका छैनन् ।
यता, बजार अस्थिर भएपछि सेयर लगानीकर्ताहरुले १२ करोडको सीमा तत्काल हटाउन माग गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले पनि लगानीकर्तालाई कुनै पनि हालतमा शेयर बजारलाई बिग्रिन नदिने आश्वासन दिन भ्याए । कारोबार रकमले शिखर चुमेपछि बजारमा पर्याप्त मात्रामा लगानीकर्ता रहेको सङ्केत मिलेको छ । आइतबार २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजारभन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको छ । समूहगत परिसूचक हेर्ने हो भने १३ मध्ये ३ वटा समूहको परिसूचकमा मात्र हरियाली छाएको छ । आइतबार नेपाल बैंक, हिमालयन डिष्टिलरी र अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । साताको पहिलो कारोबारबाट खानीखोला हाइड्रोपावर कम्पनी , जिवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।