इटहरीः शेयर बजारका लगानीकर्ताले शेयर धितो कर्जाको सीमा घटाएको भन्दै सरकारसँग गुनासो गरेका छन् । 

सरकारका हरेक साना साना क्रियाकलापले बजारलाई बढाउन र घटाउन प्रभाव पार्ने भन्दै लगानीकर्ताहरुले सरकार जनता र बजारसँग सम्वेदनशील भइदिनुपर्ने माग राखेका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिलाई पनि निजी क्षेत्रका अधिकांशले स्वागत गरिरहेको परिप्रेक्ष्यमा शेयर बजारका लगानीकर्ताहरुले भने स्वागत गरेनन् । मौद्रिक नीति सार्वजनिक भएलगत्तै केही सक्रिय लगानीकर्ताले शेयर धितो कर्जाको सीमा घटाएकोमा रोष प्रकट गरेका थिए । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा घटाएर शेयर प्रमाणपत्र धितो राखेर कुनै एक बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्म र सम्पूर्ण वित्तीय संस्थाबाट जम्मा १२ करोड रुपैँयासम्म मात्र कर्जा पाइने नीति सार्वजनिक गरेको थियो । यस नीतिसँगै शेयर प्रमाणपत्र धितो राखेर शेयर बजारमा लगानी गरिरहेका लगानीकर्ताहरु निराश भएका छन् ।

637646309151432218

 शेयर बजारमा निकै कहलिएका लगानीकर्ता छोटेलाल रौनियारले लगानीकर्तालाई एकै बैंक तथा वित्तीय संस्थाबाट हुने कामलाई मौद्रिक नीतिले विभिन्न बैंक चहार्नुपर्ने बाध्यातामा धकेलिदिएको अभिव्यक्ति दिएका छन् । यसैगरी, शेयर बजारका विष्लेशक रविन्द्र भट्टराईले लगानीकर्तासँग भएको पूँजी त्यही प्रमाणपत्र भएकाले त्यो धितो राखेर ऋण लिन नपाएपछि लगानीकर्ताको जाने ठाउँ नरहेको सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । यसैगरी, लगानीकर्ताको एक समुहले आइतबार अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई भेटी मौद्रिक नीतिका कारण लगानीकर्ता मारमा पर्ने गुनासो राखेका छन् । नेपाल इन्भेस्टर फोरम र नेपाल लगानीकर्ता संघका प्रतिनिधिहरु अर्थमन्त्रीलाई भेट्न आइतबार सिँहदरबार नै पुगेका थिए । उनीहरुले अर्थमन्त्रीसँग राष्ट्र बैंकको पछिल्लो कदम सरासर पूँजी बजारको विरोधी रहेको अभिव्यक्ति दिएका छन् । उनीहरुले अर्थमन्त्रीलाई पूँजी बजारले भोगिरहेका समस्याको ठेलीसहित ज्ञापनपत्र बुझाएका थिए ।

नेपाल इन्भेस्टर फोरमका तर्फबाट छोटेलाल रौनियार र नेपाल लगानीकर्ता संघको तर्फबाट उत्तम अर्यालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा पछिल्लो पटक राष्ट्र बैंकले पूजीँ बजारलाई हेर्ने दृष्टिकोण पूँजी बजारको विरोधी रहेको भन्दै त्यसमा शेयर धितो कर्जालाई नै मुख्य रुपमा राखिएको छ । शेयर धितो कर्जाको सीमा बढाउन उनीहरुले अर्थमन्त्रीलाई आग्रह गरेका छन् । जवाफमा अर्थमन्त्री शर्माले पुनर्विचार गर्ने आश्वासन दिएको बताइएको छ । यसैगरी, बैंक तथा वित्तीय संस्थाले पनि ४ करोडभन्दा माथिका फाइललाई होल्ड गर्न सुरु गरेको भनेरसमेत लगानीकर्ताले विरोध गर्न थालेका छन् । राष्ट्र बैंकले लगानीकर्तालाई हेर्ने दृष्टिकोण परीवर्तन गरेर समग्र पूँजी बजारलाई माथि उठाउन सकिने ठुला लगानीकर्ताको भनाइ छ ।