इटहरीः भारत–नेपाल–चीन त्रिदेशीय व्यापारिक मार्गका रुपमा निर्माण हुँदै गरेको रानी–किमाथांका ६ लेन सडक परियोजनाको काम समयमै सम्पन्न हुनेमा आशंका पैदा भएको छ ।

आर्थिक वर्ष २०६९÷०७० मा ठेक्का सम्झौता भई विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको खण्डमा झण्डै एक दशकमा ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ । यसले आयोजनाको काम समयमै सम्पन्न हुनेमा आशंका पैदा भएको हो । अहिले रानीदेखि सुनसरीको धरानसम्म १७ वटा खण्डमा काम भइरहेको छ । जम्मा ४४ किलोमिटर रहेको यस खण्डमा सबैभन्दा बढी इटहरीदेखि तरहरा खण्डमा काम भएको छ । जहाँ ९० प्रतिशत काम सकिएको ६ लेन सडक परियोजनाले बताएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण हुँदै गरेको यो सडक परियोजनामा पछिल्लो समय ठेकेदार कम्पनीले ढिलासुस्ति गरेका कारण निर्माणको अवधि लम्बिने देखिएको छ । यो सडक खण्डमा कान्छाराम कन्सट्रक्सन, तुण्डीरमण कन्सट्रक्सन, अशिष कन्सट्रक्सन, रौता कन्सट्रक्सन, पप्पु कन्सट्रक्सन, गीतान्जली जेभी र प्यासिफिक निर्माण कम्पनीले काम गरिरहेका छन् ।

जसमध्ये कान्छाराम कन्सट्रक्सनले सात ठाउँमा तुण्डीरमण कन्सट्रक्सनले ४ ठाउँमा, अशिष कन्सट्रक्सनले २ ठाउँमा र अन्यले एक÷एक ठाउँमा काम गरिरहेका छन् । यीमध्ये कहीँको पनि अहिलेसम्म पूर्ण कार्यसम्पादन भएको छैन । यसरी निर्माण कार्यमा ढिलासुस्ति गरेको भन्दै ‘६ लेन सडक परियोजना’ले केही निर्माण कम्पनीलाई कारबाहीसमेत गरेको जनाएको छ । परियोजनाले गीताञ्जली जेभीलाई २ करोड ४० लाख, पप्पु कन्सट्रक्सनलाई १ करोड ४ लाख र कान्छारामलाई २ करोड ३२ लाख जरीवाना गरेको जानकारी दिएको छ । यसका साथै परियोजनाका इन्चार्ज उपेन्द्र दासका अनुसार समयमा नै ठेक्का नलागेको र कतिपय ठाउँमा परियोजनाको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन ढिलाइ भएका कारण पनि परियोजना निर्माणमा ढिलाइ भएको जानकारी दिएका छन् । यस्तै सडक निर्माणस्थलमा भएका खानेपानीका पाइप, विद्युतका तार स्थान्तरणमा ढिलाइ हुँदा परियोजनालाई प्रभाव परेको उनको भनाइ छ । सडकको क्षेत्राधिकार अझै पूरा नभएकाले सडक निर्माणमा ढिलाइ हुने उनले बताए ।

केही ठाउँमा भने निर्माण कार्यले अन्तिम रुप लिनै लागेको इन्जीनियर दासले जानकारी दिए । इटहरी चौकदेखि तरहरासम्मको खण्डमा लगभग ९० प्रतिशत काम सम्पन्न भएको उनको भनाइ छ । तर, रानीदेखि धरानसम्मको ४४ किलोमिटर सडकमा भौतिक प्रगति ७५ प्रतिशत मात्र रहेको उनको भनाइ छ । व्यापारिक मार्गको रुपमा निर्माण हुँदै गरेको यो सडक परियोजनाको कुल लागत १० अर्ब ९५ करोड रहेको छ । २०८० सालसम्म सक्ने लक्ष्यका साथ निर्माण भइरहेको यो परियोजना तोकिएकै समयमा निर्माण सम्पन्न हुनुपर्नेमा लगभग अनिश्चित नै बनेको छ ।