धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशकले प्रतिष्ठान डुब्ने अवस्थामा पुग्नुमा तीन पदाधिकारीलाई मुख्य दोषी रहेको बताएका छन् ।
प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले विज्ञप्ति जारी गर्दै आफु कनिष्ट पदाधिकारी भएको र आफू कार्यरत रहदा प्राडा राजकुमार रौनियार, प्राडा गुरुप्रसाद खनाल र हालका उपकुलपति डा. ज्ञानेन्द्र गिरी शक्तिमा हँुदा प्रतिष्ठानको नियमावलीप्रदत्त अधिकारबाट बञ्चित गरी आफूलाई टिप्पणीकर्ता, सिफारिसकर्ता मात्र बनाएको बताएका छन् । आफूमा कुनै अधिकार नै नदिएको र दोषी भएको भन्दैं राजीना मागिएको प्रति ध्यानाकर्षण भएको उनले विज्ञप्ति जारी जनाएका छन् । उनले आफूलाई कार्यवाहक उपकुलपति प्राडा गुरु खनालले समेत अधिकारविहीन बनाएर राखेको, आफू मातहतमा रहेको डेपुटी अस्पताल निर्देशक नियुक्ति आफ्नो सिफारिसबिना नियुक्ति गरी आफ्नो अधिकारसमेत निजलाई प्रत्यायोजन गरी आफूलाई पूर्ण रुपमा अधिकारविहीन बनाएर राखेको समेत विज्ञिप्तमा उल्लेख गरेका छन् । तत्कालीन समयमा कार्यवाहक उपकुलपति प्रा।डा। खनालले दिलिप ठाकुरलाई डेपुटी अस्पताल निर्देशक बनाएर आर्थिक कारोबार गरेका थिए ।
साहले वर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरीले समेत नियुक्ति लिएर आउनेबित्तिकै आफूलाई हटाउन षड्यन्त्र गरेको बताएका छन् । डा. गिरीले प्रतिष्ठानकै केही पदका आकांक्षीहरुको उक्साहटमा आई आफूलाई अधिकार प्रत्यायोजन नगर्ने र पदबाट हटाउने षड्यन्त्र गरेको उनको भनाइ छ । यथार्थ कुराको अनुसन्धान र विगतका तथ्यहरुलाई नबुझी स्वास्थ्य राज्यमन्त्रीले समेत आफूलाई मन्त्रालयमा बोलाएर बिनाकारण राजीनामा दिनु भन्नु उचित नभएको विज्ञप्तिमा भनिएको छ । प्रतिष्ठानका तीन पदाधिकारीको शक्ति संघर्षमा आफू परेको बताउँदै आन्दोलनरत पक्षले चारै जनाको राजीनामा माग्नु गलत भएको अस्पताल निर्देशक साहको भनाइ छ । असार १५ गते आन्दोलनरत पक्षसँगको वार्तामा आफू कोरोना पोजेटिभ भएर बसेकोले संलग्न नभएको, सोही दिनदेखि वार्ता भाँडिएपछि प्रतिष्ठानको संवादको वातावरण बिग्रिएको उनले बताए । आन्दोलनरत पक्ष र प्रतिष्ठान बीचको दूरी बढ्नुमा उपकुलपति, रेक्टर र रजिष्टार जिम्मेवार भएको उनको ठहर छ ।
चारै जना पदाधिकारीको राजीनामाको माग उठ्ने मुख्य कारण रहेको गत असार १५ गतेको आन्दोलनरत पक्षसँगको वार्तामा मादक पदार्थ सेवन गर्ने उपकुलपति र गराउने अनैतिक कार्य साथ वार्तामा तीन जना पदाधिकारीहरु उपस्थित हुने र मादक पदार्थ सेवनसम्बन्धी सूचना गोप्य रुपमा एसएमएस वा अन्य माध्यमबाट प्रवाहित गरी अतिरञ्जित बनाई वार्ता असफल गराउने खेल भएको उनको दाबी छ । उपकुलपति गिरीले प्रतिष्ठानका सम्पूर्ण अधिकारहरु केन्द्रित गरेर बसेका आफ्नो नियुक्तिको भोलिपल्टैदेखि शक्ति संघर्षमा लागेर प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाएको उनको ठहर छ । तीन जना पदाधिकारीले राजीनामा दिए प्रतिष्ठानमा ‘नयाँ सोच र नयाँ नेतृत्व’ को स्थापना गरी प्रतिष्ठानको साख पुरानै अवस्थामा उठाउन सकिने समेत उनको दाबी छ । ‘यसै प्रतिष्ठानमा आफ्नो पेसागत जीवन अर्पण गर्ने मेरो आत्मबोधले हालको अवस्था सिर्जना गर्न जिम्मेवार मभन्दा पनि वरिष्ठ तनि जना पदाधिकारीहरुको राजीनामासँगै प्रतिष्ठानमा नयाँ नेतृत्व स्थापित गर्न नेपाल सरकारलाई सहयोग गर्न आफू सदैव तयार रहेको जानकारी गराउँदछु ।’– विज्ञप्तिमा भनिएको छ । उनले आफ्नो प्राध्यापक पद स्थायी भएको र पदाधिकारी अस्थायी भएकाले मार्ग प्रशस्त गर्न उनले तीन पदाधिकारीहरुलाई सुझाएका छन् ।