इटहरीः सोलुखुम्बुमा हाइड्रोपावरको प्रोजेक्ट सञ्चालन गरिरहेको साहस उर्जाले सोलुखुम्बु जिल्लाका बासिन्दालाई आजबाट आईपीओ बिक्री खुल्ला गरेको छ ।
सोलुखुम्बु जिल्लाको दुधकोसीनजिकै विद्युतीय प्लान्ट निर्माण गरिरहेको साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आज साउन २९ गतेबाट १ सय रुपैयाँ अङ्कित मूल्य भएका ३५ लाख कित्ता साधारण शेयर प्रभावित स्थानीय बासिन्दाको लागि बिक्री गर्दैछ । शेयरमा छिटोमा भदौ महिनाको ११ र ढिलोमा भदौ महिनाको २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, नेपाल इन्भेस्टमेन्ट बैंकको लुक्ला, लक्ष्मी बैंकका मुग्ली र नेले शाखा, माछापुच्छ्रे बैंकको सल्लेरी शाखा र प्राइम कमर्सियल बैंकको रमिते शाखा सोलुखुम्बुबाट आवेदन दिन सक्ने कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ । लगानीकर्ताले सि आश्वामा आबद्व बैंक तथा वित्तीय शाखाबाट समेत साधारण शेयरमा आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म शेयर माग गर्दै आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।