धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नेतृत्वमा काठमाडौं पुगेको सर्वदलीय राजनीतिक गठबन्धनले विभिन्न मन्त्रालयमा गएर धरानको विकास निर्माणको बारेमा ध्यानाकर्षण गराएको छ ।

बिहीबार कानून मन्त्रालय, अर्थ मन्त्रालय र वातावरण मन्त्रालय पुगेर ध्यानाकर्षण गराएका हुन् । मन्त्रालयसँग छलफलका क्रममा क्रममा टोलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका बेथितिको बारेमा जानकारी दिँदै समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् । खानेपानी, सेउती र सर्दु करिडोर निर्माण, विद्युत राष्ट्रिय प्रसारण लाइनको धरानमा सबस्टेसन, बसपार्क, सुरुङ्गमार्ग, कोरोना विरुद्धको खोप, धरानमा भएका पुल, धरान–विष्णुपादुका सडक कालोपत्रे, पर्यटकीय पूर्वाधार निर्माण लगायत योजनाका लागि पर्याप्त बजेटको व्यवस्था गर्न प्रतिनिधिमण्डलले आग्रह गरेको छ । यसैगरी, मेयर राईले जोगबनी–किमाथाङ्का सडकको धरान बजार खण्डको मापदण्ड परिमार्जन गरी ८० फिट कायम गर्न माग गरेका छन् । कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खानेपानी र धरान वडा नं. २० स्थित विद्युत सबस्टेसन बनाउनेबारे आफूले हेरिदिने आश्वासन दिए । साथै, उले धरानसँग जोडिएका विकास निर्माणका विषयहरुमा साथ सहयोग रहने बताए । अर्थमन्त्री जनार्दन शर्माले उक्त योजनाहरुको लिखित प्रस्तावका साथै गरिबी अन्त्य गर्न धरानमा रहेका सिमान्तकृत वर्गको तथ्याङ्क संकलन गरी ठोस योजना उपमहानगरपालिकासँग माग गरे । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहित चारैजना कार्यकारिणीले राजिनामा नदिए कारबाही गरिने प्रतिनिधिमण्डललाई बताए ।

236331832_4134359216611819_1788728354659447430_n

मन्त्रालयमा भएको छलफलमा मेयर राईले बीपीका बारेमा छानबिन समितिले दिएको प्रतिवेदन चाँडो कार्यान्वयन गर्न माग गरे । अख्तियारको पटक पटकको छानबिन, अन्दोलनको माग, छानबिन समितिको रिपोर्टको अधारमा उनीहरुले राजीनामा दिनुपर्ने मन्त्रीको भनाइ छ । प्रतिष्ठान ऐनमा ६ जना सिनेट सदस्यले कुलपति तथा प्रधानमन्त्रीसमक्ष उजुरी दिए सिनेटहरु मध्येबाट ३ सदस्यीय समिति बनाई बर्खास्त गर्न सकिने व्यवस्था छ । प्रदेश नं. १ र २ बाट बीपी प्रतिष्ठानमा उपचारका लागि धेरै बिरामी आउने भएका कारण कोरोना संक्रमितको दर र मृत्युदर धरानमा उच्च भएको भन्दै कोरोना विरुद्धको खोप लगाउन धरानलाई विशेष प्राथमिकतामा राख्न मेयर राईले आग्रह गरे । मेयर राईले धरानका लागि पर्याप्त खोप प्राप्त नभएको गुनासो गरे । मन्त्री श्रेष्ठले दुई महिनाभित्र १ करोड ५ लाख खोप आइपुग्ने बताउँदै कोरोनाको उच्च जोखिम भएको ठाउँमा खोप पर्याप्त रुपमा वितरण गरिने प्रतिबद्धता व्यक्त गरे । धरानबाट विकास निर्माणको बारेमा ध्यानाकर्षण गराउन सर्वदलीय (गठबन्धन दल) प्रतिनिधिमण्डलमा मेयर राईसहित सुनसरी क्षेत्र १ संघीय सांसद जयकुमार राई, नेकपा एमालेबाट रमेश बस्नेत, नारायण सुवेदी, माओवादी केन्द्रबाट मुक्सामहाङ्ग मेन्याङ्बो चोत्लुङ्ग, मनोज भट्टराई आदिको सहभागिता थियो भने नेकपा एमाले ओली पक्षबाट यात्राकै क्रममा केही कार्यकर्ताले विरोध जनाएका थिए ।

_MG_4015