इटहरीः प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुलाई आजदेखि जोनसन एण्ड जोनसन खोप लगाउन सुरु गरिएको हो । अभियानको सामाजिक विकास मन्त्री उषाकला राईले आज शुभारम्भ गरिन् । सडकआश्रित तथा सहयोगापेक्षीहरुलाई उद्धार गरी राखिएको विराटनगर १० को मानव सेवा आश्रमबाट अभियानको सुरुवात गरिएको हो । खोप अभियानको सुरुवात गर्दै सामाजिक विकास मन्त्री राईले सडकआश्रित तथा सहयोगापेक्षीहरु सम्पूर्णलाई कोभिड १९ विरुद्धको खोप लगाइने बताइन् । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरु सबैलाई खोप लगाइने उनले बताइन् । मन्त्री राईले भनिन्‘ अपाङ्गता भएका तथा अशक्त सबैलाई अभियानमा समेटिनेछ ।’ लक्षित समूहले खोप लगाइरहेपनि संरक्षण गृहमा आश्रितहरुले खोप लगाउन नपाएको थाहा भएलगत्तै अभियान सुरुवात गरिएको मन्त्री राईले बताइन् ।
सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले मानव सेवा आश्रम तथा संरक्षण गृहमा आश्रित सवैलाई खोप लगाइने बताइन् । उनले आज ३ सयभन्दा बढीलाई खोप लगाइने जानकारी दिइन् । मानव सेवा आश्रममा प्रदेश सरकारद्वारा सञ्चालित दीर्घकालीन पुनःस्थापना गृह, ओरेक, माइती नेपाल र एबीसीको संरक्षणमा रहेकाहरुलाई आज खोप लगाइसकिने उनले बताइन् । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कमल भट्टराई, स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहता, विराटनगर १० का वडाध्यक्ष माधवराज वाग्ले लगायतको सहभागिता रहेको थियो ।