विराटनगर: विधिसम्मत ढंगले तोकिएकै समयमा महाधिवेशन गर्न र फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर युवा कांग्रेस विद्यार्थी नेताहरुले प्रदर्शन गरेका छन् ।
युवाको नेतृत्व १ नम्बर प्रदेश प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले गरेका थिए । बुढानिलकण्ठमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा निवासअगाडि प्लेकार्डसहित प्रदर्शन भएको हो । प्रमुख सचेतक कार्कीले भने,“समयमै महाधिवेशन गर्न र पार्टीलाई अनिर्णयको बन्दी नबनाउन माग गर्दै हामीले लोकतान्त्रिक पार्टीलाई बचाउन भनेका हौं ।” कार्कीले पार्टीलाई विभिन्न माध्यमबाट पटकपटक महाधिवेशन वैधानिक तवरले गर्न माग हुँदै आएको सुनाए । कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन समयमै महाधिवेशन गराउनुपर्ने, विधान मिच्न नपाइने, संविधान मिच्न नपाइने नारा लेखिएका प्लेकार्ड युवा नेता तथा विद्यार्थीले प्रदर्शन गरेका थिए ।