इटहरीः नेपालको शेयर बजार परिसूचक नेप्सेमा निरन्तर तेस्रो दिन नयाँ अलटाइम हाइ रेकर्ड बनेको छ ।
मङ्गलबारदेखि नयाँ रेकर्ड बनाउन थालेको नेप्सेले साताको अन्तिम दिन बिहीबार पनि नयाँ रेकर्ड बनाएको छ । मङ्गलबारदेखि रेकर्ड ब्रेकिङ्गमा लागेको शेयर बजार परिसूचक नेप्से परिसूचक ३१६१.४५ विन्दुमा पुगेर नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो । सो रेकर्डलाई अर्को दिन बुधबार तोड्दै अर्को रेकर्ड बनाएको थियो भने बुधबार बनाएको रेकर्डलाई बिहीबारको कारोबारले तोडेर नयाँ रेकर्ड बनाएको छ । बिहीबार नेप्से परिसूचक १६.४१ अंक बढेर ३१७९.०० विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.४६ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन २२५ कम्पनीको १ लाख ५४ हजार ६६० पटकको कारोबारमा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार रुपैयाँ बराबरको ३ करोड ६६ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । बिहीबार ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन रुरु जलविद्युत, कामना सेवा विकास बैंक, माउन्टेन इनर्जी, जीवन विकास लघुवित्त, महालक्ष्मी विकास बैंक, साइन रेशुङ्गा डेभलपमेन्ट बैंक र यूनियन लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । बिहीबार १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ ।