इटहरीः रामधुनी नगरपालिका वडा नम्बर ५ झुम्का घर भएका रोयल दाहाल उमेरका हिसाबले २० वर्षको हाराहारीका छन् । तर कमैले विश्वास गर्ने कुरा के हो भने उनी शेयर बजारका लगानीकर्ता पनि हुन् । इटहरीको विश्वआदर्श कलेजमा विज्ञान विषयको अध्ययन गरिरहेका रोयलले शेयर बजार बुझेको लामो समयचाहिँ भएको छैन । सानो सानो लगानीबाट आफ्नो पकेट खर्चको जोहो गर्न सकिन्छ भन्ने विश्वास राख्ने रोयल प्राथमिक बजार बुझेर सानो सानो ट्रेडिङ गर्न सक्ने भएका छन् । भmण्डै एक वर्ष भएछ जतिबेला चन्द्रागिरि हिल्सको साधारण शेयर निष्कासन भएको थियो । बजारमा थुप्रै हल्ला भएछ । शेयर खुलेको पहिला पहिला भर्नेहरुले आफूले यो बेचेको उ किनेको जस्ता कुरा गरेपछि रोयलले पनि आईपीओ अर्थात साधारण शेयरबाट शेयर बजारमा छिर्ने सोच गरेछन् ।
कलेजमा साथीहरुले पनि शेयरका कुरा गर्दै थिए रे । त्यहीँबाट जोस पलायो रोयलको अनि चन्द्रागिरि हिल्सबाटै सुरु भयो आईपीओ लगानीको यात्रा । भर्नेबित्तिकै कहाँ पर्छ र आईपीओ पनि । शेयर बजारमा आईपीओका लगानीकर्ता पनि त धेरै नै भइसके । सबैको भाग्य त्यत्ति बलियो हुन ठूलै पोर्टफोलियो भएको कम्पनीले शेयर निष्कासन गर्नुपर्छ । अनि नेपाल इन्फ्रास्ट्रक्चर विकास बैँक (निफ्रा) को शेयर खुल्यो । त्यहाँबाट खोलिएको रहेछ रोयलको शेयरको खाता पनि । अहिले सानै भएपनि आफ्नै पोर्टफोलियो छ । सामान्य पकेट खर्च मात्र नभएर पढाइ खर्चको पनि जोहो भइरहेको छ रोयलको । रोयलका अनुसार फण्डामेन्टल हेरेर लामो समयको लगानी गर्ने पैसा विद्यार्थी जीवनमा हुँदैन । हुन पनि सानो आकारको पकेट खर्चमा खडिएको हुन्छ विद्यार्थी जीवन । त्यही हुनाले पनि रोयल ‘टेक्निकल अन्यालसिस’ –प्राविधिक विष्लेशण) हेरेर छोटो समयको लागि लगानी गर्ने गर्दा रहेछन् । शेयर बजारमा पढ्दै गरेका विद्यार्थीले पनि राम्रै कमाउन सकिने भन्दै रोयल दोस्रो बजारमा आइपिओ बेचेरै पनि सानो सानो ट्रेडिङ्ग गर्न सकिने भनाइ राख्छन् ।
यता, रामधुनी नगरपालिका वडा नम्बर ५ झुम्काकै चार्टर एकाउण्टका विद्यार्थी उज्वल घिमिरे पनि शेयर बजारका अब्वल लगानीकर्ता भइसकेका छन् । शेयरको टेक्निकल अन्यालसिससमेत गर्ने उज्वलले आफ्नो पढाइसँगै राम्रो पोर्टफोलियो बनाएका छन् शेयर बजारमा । पढाइसँगै कमाउन पनि सकिन्छ भन्ने भावना राख्ने उज्वल र उनका दाजु हिल्सन दुवै शेयर बजार राम्रो बुझेका दाजुभाइ हुन् । आफूसँग भएको पूँजीलाइ ’ट्रेडिङ’ (सर्ट टर्म) र इनभेष्टिङ (लङ्गटर्म) मा लगभग ५०–५०% छुट्याएको बताउने उज्वल लगानीलाई अहिलेको बजारको अवस्था हेरेर परिचालन गर्नुपर्ने बताउँछन् । ट्रेडिङका लागि दैनिकजसो कम्तिमा १–२ घण्टा शेयर बजार, चार्ट, न्युज हेरिरहेको बताउने उनी आफैँ पनि शेयर बजार रिसर्चरको रूपमा काम गरिरहेको हुनाले शेयर बजारसम्बन्धी ‘अप टु डेट’ नै रहने गरेका रहेछन् । यसैगरी, इन्भेस्टिङलाई भने त्रैमासिक विवरणहरु पढ्ने, कम्पनीको विष्लेशण गर्ने गर्दा रहेछन् । यस्तो विवरणहरुचाहिँ समय निकालेर नै त्रैमासिक र चौमासिक रिपोर्टहरु अध्ययन गर्ने गरेको उज्वलले बताए । आम्दानीचाहिँ अहिले बूल मार्केट भएकोले अधिकांश लगानीकर्ताझैं उज्वलको पनि राम्रो भएको रहेछ ।
ट्रेडिङमा सतप्रतिशत माथि नाफा भएको केही उदाहरण पनि छन्, त्यसैले अहिले भने आफ्नो जोहो आफैँ गर्न शेयर बजारबाट पुगिरहेको रहेछ उनलाई । बियर मार्केटमा प्रवेश गरेका उज्वल पूँजी पनि विद्यार्थीको नितान्त सानो हुने भएकाले त्यो समय यस्तो सम्भव नभएको अनुभव पनि उनीसँग छ । घरबाटै माग्नुपर्ने बाध्यता भएको बेला रामे लगानी गर्न पाएका थिएनन् । अहिले बुलमा राम्रो भइरहेको उनले हामीलाई बताए । समयलाई राम्रो व्यवस्थापन गर्न सके पढाइ र शेयर बजारमा सक्रिय रहन गाह्रो नहुने रहेछ । उज्वलले त्यो पनि म्यानेज गरिरहेका छन् त्यो पनि आफ्नै घरबाटै । ट्रेडिङ गरेकोले हातमा क्यास पनि भइरहने र इन्भेस्टिङमा चै रिटर्न राम्रो भएपनि खासै किनबेच नगर्ने गरको उज्वलको अनुभवले भन्यो ।
शेयर बजारलाई हातको मोबाइलले सजिलै खेलाउन सकिने भएकाले पनि विद्यार्थीहरु यसतर्फ होमिएको देखिन्छ । पहिलेजस्तो शेयर किन्न र बेच्न ब्रोकरको अफिसमा धाउन पर्दैन । इन्टरनेटको सहायताले घरमै बसेर सहजै शेयर खरिद बिक्री गर्न सकिन्छ । त्यत्ति मात्र नभएर टेक्निकल अन्यालसिसको ज्ञान भएकाहरुले त सजिलै ट्रेडिङ्ग गरेर केही शेयर मूल्य बढेपछि बेचेर राम्रो नाफा कमाउन सक्छन् ।