इटहरीः इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्वारिकलाल चौधरीले विधिको शासनभन्दा व्यक्तिको शासन गर्न थालेको भन्दै नेपाली कांग्रेस त्यसको प्रतिकारमा उत्रिएको छ ।

गत मङ्गलबार इटहरीको खनार चौकनजिकै रहेको एक व्यवसायीको निमार्णाधीन रिसोर्टमा डोजर चलाएका नगरप्रमुख चौधरीले बुधबार एक नागरिकलाई उपमहानगरमा बन्धक बनाएका थिए । यस्तै, नगरप्रमुख चौधरीले केही दिन यहाँ सञ्चारमाध्यममा आपत्तिजन अपुष्ट अभिव्यक्ति दिएको, जसले गर्दा इटहरीका व्यवसायी र प्रतिष्ठित कर्मचारीको गरिमामा नै आँच आएको नेपाली कांग्रेसको ठम्याइ छ । इटहरीका नगरप्रमुख सच्चिनुपर्ने, आफूहरुसँग वार्ता तथा छलफल गर्नुपर्ने र जनतामाझ माफी माग्नुपर्ने कांग्रेसका इटहरी नगर समिति सभापति हेमकर्ण पौडेलले बताए । अहिले इटहरीका नगरप्रमुख चौधरीको तर्फबाट आइरहेका अभिव्यक्ति एक बिरामी मानिसले दिएको जस्तै भएको कांग्रेसको भनाइ छ ।

नगरप्रमुख चौधरीको मानसिक सन्तुलन नै परीक्षण गनुपर्ने अवस्था आएको कांग्रेस नेता रोहित प्रसाईले बताए । मेयर चौधरीको मानसिक अवस्थाको परीक्षण गर्न नसक्ने भए आफैँले गरिदिने उनको भनाइ छ । यता जननिर्वाचित प्रतिनिधिहरु नै नगर प्रमुखको गतिविधिप्रति विरोधमा उत्रिएका छन् । एक जना प्रतिनिधिले गरेको स्वेच्छचारी कामले सम्पूर्ण जनप्रतिनिधिकै प्रतिष्ठालाई असर पारेको उपमहानगरको २० नम्बर वडाका वडाध्यक्ष मणिराम श्रेष्ठले बताए । यो घटनाले इटहरीलाई जवाफदेहिताबाट बाहिर लगेको उनको तर्क छ । यता नगरप्रमुख चौधरीले भने यो कुराको खण्डन गर्दै नदी तथा खोलाको क्षेत्राधिकार मिचेर संरचना बनाएकाले आफू ‘एक्सन’मा उत्रिएको जानकारी दिए । आफूले नियमसम्मत काम गरेको उनको दाबी छ । इटहरीमा राजनीति र समाजसेवाको खाल ओढेर अनैतिक काम गरिरहेको स्पष्ट पार्दै त्यस्ता कसैलाई आफूले नछोड्ने उनले बताए ।

त्यसका लागि अदालतमा गएर कानुनी लडाइँ लड्ने पनि नगरप्रमुख चौधरीको भनाइ छ । नेपाली कांग्रेसका प्रतिनिधिहरु बिहीबार (आज) बिहान नगरप्रमुख चौधरीलाई कार्यालय प्रवेश गर्न नदिने भन्दै इटहरी उपमहानगरपालिकाको कार्यालय पुगेका थिए । बिहान ९ बजे कार्यालयअगाडि गएर बसेका उनीहरु नगरप्रमुख चौधरी नआएपछि फर्किएका थिए । यस्तै, बुधबार (हिजो) कांग्रेस इटहरी नगर समितिले नगरप्रमुख र उपप्रमुखको कार्यालयमा तालाबन्दी गरेको थियो ।