इटहरीः शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन् ।
नवनिर्मीत जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन, तथा आवासगृहको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको हाताभित्र आज बिहान भएको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले भवन आफैँमा सबै चिज नभएको प्रष्ट पार्दै, नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनुपर्ने तथा रुपान्तरण हुनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि तथा प्रहरी महानिरीक्षक थापाले भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई प्रशंसापत्रले सम्मानसमेत गरेका थिए । कार्यक्रममा बोल्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले उचित बासस्थानको भरपर्दो व्यवस्थाबिना नै काम कारबाही गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले सुरक्षित बासस्थान प्राप्त भएसँगै अब थप हौसलाका साथ काम कारबाही गर्ने र विविध आपराधिक घटना नियन्त्रणमा थप बल पुग्ने धारणा व्यक्त गरेका थिए ।
यसैगरी, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले विकास निर्माणको पहिलो आधार भनेकै शान्ति सुरक्षा रहेको हुँदा आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवार रहेको नेपाल प्रहरी साधन श्रोतले सम्पन्न भएमा मात्र जनचाहना बमोजिमको सुरक्षा प्रदान गर्न सक्ने हुँदा यस्ता किसिमका सुविधासम्पन्न नवनिर्मित भवनले केही हदसम्म सहयोग गर्ने बताए । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायबमहानिरीक्षक अरुण कुमार बी.सी.ले भौतिक पुर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने बताउँदै सुविधासम्पन्न भवन प्राप्त भएसँगै नागरिक सेवामा अब विगतका दिनहरुभन्दा प्रभावकारी ढङ्गले बढ्न नवनिर्मित भवनको योगदान रहने विश्वास ब्यक्त गरे । २४ सै घण्टा कार्यक्षेत्रमा परिचालित रहनुपर्ने प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुविधाले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुविधासम्पन्न भवन प्राप्त भएसँगै थप जोस र उर्जाका साथ प्रहरी काम कारबाही गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशनसमेत दिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको साढे दुईतले कार्यालय भवन तथा तीनतले आवास गृह ९ करोड ७० लाख ७२ हजार ३२० रुपैयाँको कुल लागतमा निर्माण सम्पन्न भएको हो । उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, विभिन्न महिला सञ्जाल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मीहरुका साथै स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।