इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिद र निर्माण लगायतमा अनियमितताभएको सार्वजनिक भएसँगै अख्तियारको टोलीले छापा मारेको हो । अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित कार्यालयले छापा मार्दै महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले भ्रष्टाचार गरेको भन्दै छापा मारेको हो । यस विषयमा लामो सयमसम्म प्रतिष्ठानका चिकित्सक, कर्मचारी तथा नर्सले आन्दोलन गरेका थिए । यसपटक प्रतिष्ठानमा सबैभन्दा लामो आन्दोलन चलेको थियो । सरकारले गठन गरेको सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलले पनि प्रतिष्ठानमा भ्रष्टाचार गरेको ठहर गरेको छ ।
उक्त कार्यदलले सार्वजनिक गरेको प्रतिवेदन साउन १८ गते सार्वजनिक गरिएको थियो । प्रतिवेदनमा भ्रष्टाचारको आरोप लागेको संस्थाबाटै सामग्री खरिद गरिएको, १४ करोड ६० लाखको खरिदमा मूल्य सार्थकता सुनिश्चित नभएको, ८ गुणा महँगोमा एक दशकदेखि इन्टरनेट सेवा लिएको उल्लेख गरिएको छ । अख्तियारको केन्द्रबाटै गएको एसएसपी टेकबहादुर तामाङ नेतृत्वको ५ जनाको टोली प्रतिष्ठानको कार्यालयमा पुगेर त्यहाँका केही कागजात लिएको हो । प्रतिष्ठानमा खरिद अक्सिजन प्लान्ट, एमआरआई, सिटिस्क्यान, एमसीएच भवन, फार्मेसी भवन निर्माणमा करोडौंको चलखेल भएको स्रोतको भनाइ छ ।