इटहरीः सुनसरीको दुहबीमा संचालित श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याइने भएको छ ।
काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल र वसन्त चौधरी फाउन्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी करिब साढे ३ वर्षदेखि बन्दप्रायः रहेको सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः सञ्चालनमा ल्याउने भएका हुन् । बन्द हुनुअघिसम्म १५ शैया क्षमतामा सञ्चालनमा रहेको अस्पतालको स्तरोन्नति गरी ५० शैया बनाइनेछ । सो च्यारिटी अस्पताल नवीनतम प्रविधि र मेडिकल उपकरणले सुसज्जित हुनेछ । सो अस्पताललाई नर्भिकले दक्ष जनशक्तिको साथै विशेषज्ञ सेवासमेत उपलब्ध गराउनेछ । अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्नेछ भने आर्थिक सहयोग वसन्त चौधरी फाउण्डेसनले जुटाउनेछ । नर्भिक इन्टरनेशनल हस्पिटलका संरक्षक वसन्त चौधरीले दुहबीको सो अस्पतालमा नर्भिकको प्रविधि, जनशक्ति तथा अनुभवसमेत प्रयोग गरी पूर्वी नेपालका सर्वसाधारणलाई न्यून दरमा स्वास्थ्य सेवा उपलब्ध गराइने योजना रहेको बताए ।
‘हामीले सो अस्पताललाई पुनर्जीवन दिनका लागि ३ करोड रुपैयाँ बराबरको लगानी पूर्वाधार विकासमा गर्नेछौं,’ अध्यक्ष चौधरीले भने–‘२ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउनेछौँ ।’ करिब ८ हजार वर्गफिटको नयाँ संरचनासहित मुटुरोग÷प्रसूति सेवा लगायतका शल्यक्रियाका लागि अत्याधुनिक अप्रेसन थिएटर, अत्याधुनिक उपकरणजडित आईसीयू लगायतका संरचना निर्माण गरी अस्पताल पुनः सञ्चालन हुनेछ । सो अस्पतालमा डायलासिस सेवासमेत उपलब्ध हुनेछ । अस्पतालमा २४ सै घण्टा स्तरीय आकस्मिक सेवासमेत उपलब्ध हुनेछ । अस्पतालमा ७५ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । आगामी वैशाख १ गते पर्ने नर्भिक अस्पतालको स्थापना दिवसको अवसर पारेर सो च्यारिटी अस्पतालको सम्पूर्ण सेवाको सुरुवात हुनेछ । चौधरीका पितामाताको नाममा स्थापित सो अस्पतालको शिलान्यास २०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।
तत्कालीन गाविसले च्यारिटी अस्पताल चलाउनका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएको थियो भने अस्पताल निर्माणमा लाग्ने सबै खर्च चौधरीले व्यहोरेका थिए । सो बेलासमेत दुहबी–विराटनगर औद्योगिक करिडोरमा २०० भन्दा बढी उद्योगहरु सञ्चालनमा रहेका थिए । कुनै औद्योगिक दुर्घटना हुँदा वा उद्योगमा काम गर्ने कुनै मजदूर वा श्रमिक अचानक बिरामी पर्दा उपचार गर्न विराटनगर नै पुग्नुपर्ने बाध्यता थियो । त्यस्तो बाध्यता अन्त्यको उद्देश्यले त्यसबेला च्यारिटी अस्पताल स्थापना गरिएको थियो । नर्भिकले यसै वर्षदेखि सुनसरीको दुहबीमै १०० शैयाको अत्याधुनिक छुट्टै अस्पतालनको निर्माण कार्यसमेत सुरु गर्ने यसअघि नै घोषणा भइसकेको छ ।