काठमाडौँः आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ ।

‘खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ । दिवसकै अवसरमा आज १०ः३० बजे राष्ट्रिय युवा परिषद्ले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देश दिनेछन् । देशभर युवासँग सम्बन्धित विभिन्न गैरसरकारी संघ–संस्थाले पनि कार्यक्रम गरी दिवस मनाइरहेका छन् । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले कोरोनाभाइरसका कारण यसपटक पनि भर्चुअल रूपमा दिवस मनाउन थालिएको बताए । परिषद्ले दिवसकै अवसरमा गत सातादेखि नै युवासम्बन्धी कार्यक्रम गर्दै आइरहेको छ ।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने संघ–संस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारी रूपमा परिषद्को अगुवाइमा वि.सं. २०७३ देखि मनाउन थालिएको हो । सरकारले वि.सं. २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आएको छ । नेपालमा कुल जनसंख्याको ४०.३ प्रतिशत युवा रहेका छन् । -रासस