इटहरीः गरिमा विकास बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अधिकांश सकारात्मक सूचकसहित सार्वजनिक भएको छ ।
गत असार मसान्तसम्ममा बैंकले ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.९६ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.३७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४३.८४ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३८.३७ प्रतिशत बढेको छ भने नेट फि कमिसन आम्दानी ३७.७१ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षमा १३.५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी वृद्धि गरेको यस बैंकको जगेडा कोष ४६.०३ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ५०.६० प्रतिशत र कर्जा ४८.६० प्रतिशत बढेको छ । खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ । अघिल्लो आर्थिक वर्षमा १७.८२ रुपैयाँ रहेको यस्तो आम्दानी गत आर्थिक वर्षमा ४ रुपैयाँ ६३ पैसा बढेर २२ रुपैयाँ ४५ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २४.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा रहेको छ ।