इटहरीः नेपाल स्टक एक्चेन्जमा भएको बुधबारको कारोबारबाट नेप्से परिसूचक झिनो अङ्कले बढेर सकारात्मक दिशामा देखिएको छ ।
यस दिन नेप्से परिसुचकमा झिनो वृद्धि देखिएपनि सेन्सेटिभ इन्डेक्स भने नकारात्मक देखिएको छ । यस दिन नेप्से परिसूचक ०.९४ अङ्कले बढेर ३१६२.५९ विन्दुमा पुगेको छ । आज देखिएको नेप्से परिसूचक हाल सम्मकै उच्च विन्दु हो । पछिल्लो समय नेप्से परिसूचकले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । बुधबारको कारोबारबाट सेन्सेटिभ इन्डेक्स भने २.३८ विन्दुले घटेर ५८५.७१ विन्दु कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने गिरावट आएको छ । मङ्गलबार १७ अर्ब ८४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बुधबार साढे १५ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस दिन २३० वटा कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँमा खरिद बिक्री भएको छ ।
मंगलबार केही करेक्सन देखिएको हाइड्रोपावर कम्पनीहरुमा बुधबार पुनः लगानीकर्ताको आकर्षण देखिएको छ । यस दिन उच्च रुपले बढ्ने कम्पनीमा धेरैजसो हाइड्रोपावर कम्पनी परेका छन ्। हाइड्रोपावर उपसमूहको सूचकसमेत सबैभन्दा धेरै ३.९२ प्रतिशतले बढेको छ । मङ्गलबार हाइड्रोपावर समूहको परिसूचकमा गिरावट आएको थियो भने धेरैजसो यस समूहका कम्पनीका लगानीकर्ताले ह्रास व्यहोरेका थिए । बुधबार रुरु लजविद्युत, रिद्धि हाइड्रोपावर, आईसीएफसी फाइनान्स, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने एनआएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ९.९९ प्रतिशत र अरुण काबेली हाइड्रोपावरको ९.७८ प्रतिशतले बढेको छ ।
यता जेविल्स फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ४.१७ प्रतिशतले घटेको छ भने जलविद्युत लगानी तथा विकास कम्पनीको ३.३९ प्रतिशत, गोर्खाज फाइनान्सको ३.१६ प्रतिशत, बेस्ट फाइनान्सको ३.१६ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको ३.१३ प्रतिशतले घटेको छ । यसैगरी बुधबार अपर तामाकोशीको सबैभन्दा धेरै ६८ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ५७ करोड ३७ लाख, अरुण काबेली हाइड्रोपावरको ५६ करोड १२ लाख, अपि पावरको ५३ करोड १७ लाख र आईसीएफसी फाइनान्सको ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।