इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख (मेयर) द्वारिकलाल चौधरी हिजोबाट पुनः आक्रामक बन्दै गएका छन् ।

मङ्गलबार इटहरी उपमहानगरको खनारमा रहेको एक निर्माणाधीन रिसोर्टमा लगाइएको कम्पाउन्ड वाल भत्काएका मेयरले आज एक जनालाई उपमहानगर कार्यालयमा थुनेका छन् । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा वडा नम्बर ४ का स्थानीय यामप्रसाद ढकाललाई मेयर चौधरीले थुनेका हुन् । उनलाई बिहान नगरप्रहरीमार्फत् मेयर चौधरीले उपमहानगर कार्यालयमा आउन भनेका थिए । कारणवश विराटनगर पुगेका ढकाल इटहरी आएपछि उपमहानगरका नगर प्रहरीले उनलाई मेयरले निर्देशन दिएको भन्दै कार्यालयमा ल्याएका थिए । कार्यालय आउनुपूर्व आफूलाई मेयरले किन बोलाए भन्नेबारे अनभिज्ञ रहेको ढकालले बताए । उपमहानगरपालिकामा आएपछि मेयर चौधरीले एक साताभित्र घर भत्काउँछु भनेर हस्ताक्षर गर, नभए थुन्छु भनेको ढकालले बताए ।

IMG_0617

‘म विराटनगरमा थिएँ । मेयर साबको दुई पटक फोन आयो’, उनले भने, ‘यहाँ (इटहरी) आएपछि म उपमहानगरपालिका आएँ । मेयरले मलाई सात दिनभित्र घर भत्काउँछु भनेर कागज सही गरेर जानु भन्नुभयो ।’ उनले अगाडि थपे, ‘सही किन गर्ने मैले ? किन भत्काउने घर ? भने’, तपाइँ जहाँ पाए त्यहीँ घर बनाउने अनि घर नभत्काउने, सही नगर्ने भए कोठामा लगेर थुनिदेउ भनेर नगर प्रहरीलाई भन्नुभयो ।’ मेयर चौधरीले ढकाललाई झण्डै साढे दुई घण्टा थुनेका थिए । ३ बजे उपमहानगर पुगेका उनलाई मेयरले थुनेका थिए । मेयरले बिनाकारण कसैलाई थुनेकोबारे थाहा पाएर नेपाली कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेलसहितको टोली त्यहाँ पुगेको थियो । आफूहरुले प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई पनि घटनाबारे जानकारी गराएको नगर सभापति पौडेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीले प्रहरी र परिवारको रोहवरमा उनलाई त्यहाँबाट निकाल्नू भन्ने आदेश दिएकाले सोही बमोजिम निकालेको पौडेलले बताए ।

IMG_0664

मेयर र उपमेयरको कार्यकक्षमा तालाबन्दी
नेपाली कांग्रेस इटहरी नगर समितिले मेयर र उपमेयरको कार्यकक्षमा तालाबन्दी गरेको छ । केही दिनयाता मेयरले कानूनीभन्दा व्यक्तिगत पूर्वाग्रह राखेर आतङ्क मच्चाउन थालेकाले सो कुरालाई रोक्न तालाबन्दी गरेको नगर सभापति पौडेलले जानकारी दिए । कार्यापालिकामा निणर्य नै नगराई मानोमानी ढंगले गतिविधि गरेको कांग्रेसको आरोप छ । आफूसँग फरक विचार राख्ने मानिसहरुको सूची नै तयार गरेर मेयरले यस्ता गतिविधि बढाएको नगर सभापति पौडेलले बताए । स्वेच्छाचारी प्रवृत्तिलाई रोक्नका लागि तालाबन्दी गरिएको पौडेलले जानकारी दिए । भोलि शुक्रबार बिहान मेयर चौधरीलाई कार्यालय प्रवेशमा रोक लगाउने कांग्रेसको चेतावनी छ ।

hs.