लन्डनः भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवास अगाडि शनिबारदेखि थालेको आमरण अनसनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बेलायती कानुनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको हो । प्रहरीले त्रिपाल हटाउन खोज्दा अनसनरत समूहले रोक्न खोजेको थियो तर प्रहरीले त्यसको बास्ता नगरी हटाइदिएको थियो । त्रिपाल हटाउने क्रममा अनसनरत एक सदस्य ज्ञानराज राईले दुई शताब्दीदेखि बेलायतका लागि लड्दै आएका गोर्खाहरूलाई यसरी हस्तक्षेप गरेर पुरस्कार दिएको हो भनेर प्रशासनसमक्ष प्रश्न गरेका थिए । कानुनको बहाना बनाएर अनसनलाई कमजोर बनाउन खोजेको गोर्खा सत्याग्रह सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए ।

भोक हड्ताल गरिरहेका गोर्खाहरूका सम्बन्धमा सङ्घीय प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उच्चस्तरीय समिति गठन गर्न मङ्गलबार नै निर्देशन दिएको छ । बेलायत सरकारले समय तोकेर आधिकारिक जवाफ नदिएसम्म आन्दोलन नटुङ्गिने सत्याग्रह समितिले जनाएको छ । पछिल्लो चार दिनदेखि भूपू गोर्खाहरू ज्ञानराज, धनमाया गुरुङ र पुष्पा राना घले भोक हड्तालमा छन् । -रासस