इटहरीः मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर आज (साउन २७ गते) देखि सवसाधारणको लागि निष्कासन गरिएको छ ।
लघुवित्तले जारी पुँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । बिक्री खुल्ला गरिएका मध्ये ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी शेयरमा भने सर्वसाधारणको हक रहने छ । ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता बराबरको एक लाख रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ ।
तथापि, शेयर बजारमा आईपीओ भर्ने लगानीकर्ताको सङ्ख्या ठुलो भएको कारणले शेयर पर्ने सम्भावना भने निकै कम देखिन्छ । त्यसैले पनि १० कित्तासम्म मात्र भर्नु बुद्धिमानी देखिन्छ । मानुषीको शेयरका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेबसाइट तथा एपमार्फत् आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे भदौ ९ गतेसम्म म्याद थप हुनेछ । बजारमा शेयरको अचाक्ली माग भएको हुँदा यदाकदा केही प्राविधिक समस्या नभएको खण्डमा तोकिएकै मितिमा शेयर निस्कासन बन्द हुने गरेका छन् । लघुवित्तको अधिकृत पुँजी एक २० करोड रुपैयाँ, जारी पुँजी १० करोड रुपैयाँ र चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनपछि लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।