इटहरीः सुनसरीको इनरुवा नगरपालिका ४ पुर्व–पश्चिम राजमार्गमा पर्ने इनरुवा बसपार्कबाट कारमा सवार ५ जनालाई अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी १४ का २० वर्षीय अमोदकुमार यादव, सप्तरीकै तिलाठी कोलारी ४ का २० वर्षीय इनरकुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ का २४ वर्षीय विनोदकुमार कामत, सप्तरी तिलाठी कोलारी ४ का १९ वर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी ४ का २२ वर्षीय फूलकुमार मुखिया रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो राति ८ः०० बजे बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउँदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार ५ जनालाई जाँच गर्दा अमोदकुमार यादवको साथबाट लागूऔषध ब्राउनसुगर १३० ग्राम फेला परेको हो । ब्राउन सुगर फेला परेपश्चात् कारसहित पाँचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।