इटहरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले गएको एक महिनामा विभिन्न मुद्दाका २३८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा पेस गरेको छ ।
जसमा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीहरु छन् । श्रावण १ गतेदेखि हालसम्म सुनसरी जिल्ला अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरी जिल्ला अदालतमा पेस गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरीर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागूऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचारजस्ता अभियोगमा सजाय पाई फरार रहेका प्रतिवादीहरुबाट ४९ वर्ष कैद सजाय फर्छ्योट भएको छ भने ९ लाख ३५ हजार ३ सय १९ रुपैया जरिवानासमेत असुल भएको छ ।
सुनसरी प्रहरीको फरार पक्राउको यस अभियान आपराधिक घटनामा संलग्न भई समाजमा खुलेआम हिँड्ने प्रवृत्तिका विरुद्ध लक्षित छ । अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिँदैन भन्ने सन्देश यो अभियानले दिएको प्रहरीको भनाइ छ । फरार प्रतिवादी पक्राउका क्रममा मिति २०६६ बैशाख १६ गते आफ्नी नातिनी ५ वर्षीया सोशिलाकुमारी खत्वेलाई घाटी वटारी मारेर प्लाष्टिकको बोरामा हालेर खेतमा गाडी फरार रहेका वसन्त खत्वेसमेत रहेका छन् । उनलाई सुनसरी जिल्ला अदालतबाट जन्म कैद सजाय तोकिएको थियो ।