इटहरीः अर्थमन्त्री जनार्दन शर्माले मङ्गलबार संसदमा देशको समग्र आर्थिक अवस्थाको चित्रण गर्ने श्वेतपत्र सार्वजनिक गरेका छन् ।

देशको वर्तमान आर्थिक अवस्थालाई सरकारले श्वेतपत्रमार्फत् छर्लङ्ग पार्ने प्रयास गरेको छ । कोभिडको महामारीका बीच पहिलेको सरकारले कानूनी मापदण्डलाई लत्याउँदै जनचाहनाविपरीत जनप्रतिनिधि सम्मिलित प्रतिनिधिसभालाई विघटित गरी अध्यादेशमार्फत् बजेट सार्वजनिक गरेको भन्दै अर्थमन्त्री शर्माले अबको सरकारले डुबेको अर्थतन्त्रलाई सरकार र सरकारका सहयात्री दलको साझा नीति तथा कार्यक्रममार्फत् गरिएका प्रतिबद्धतालाई पूरा गर्न छिटै प्रतिस्थापित अर्को विधयक प्रस्तुत गर्ने बताएका छन् । कुल जनसङ्ख्याको १८.७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको भन्दै मन्त्री शर्माले आगामी प्रतिस्थापित विधेयकमार्फत् पुरानै सरकारले घोषणा गरेको बजेटको परिमार्जित भर्सन सार्वजनिक गर्नेसमेत मङ्गलबार संसदलाई जानकारी गराएका छन् ।

अर्थमन्त्रीको रुपमा पदभार ग्रहण गरेलगत्तै देशको समग्र आर्थिक अवस्था चित्रण गर्नेगरी श्वेतपत्र जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका शर्माले सरकारको एक महिना पुग्नै लाग्दा श्वेतपत्रको घोषणा गरेका छन् । गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.५ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको अपेक्षा गरीएको भएता पनि कोरोनाको दोस्रो लहर, यसले अर्थतन्त्रमा पारेको प्रभाव र उद्योगधन्दाका साथै व्यवसायमा आएको नकारात्मक प्रभावले आर्थिक वृद्धिको लक्ष्य पुरा हुनेमा मन्त्री शर्माले शंका व्यक्त गरेका छन् । कोरोना महामारीलाई रोक्नको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको उपलब्धता, भेण्टिलेटर, अक्सिजन, होल्डिङ्ग सेन्टरजस्ता कुरामा अघि बढ्नुको सट्टा पहिलेको सरकार अनावश्यक उद्घाटन, शिलान्यासजस्ता कार्यक्रम गरेर नागरिकको जमघट गरी कोरोनाको महामारीलाई झनै बढाएको मन्त्री शर्माको आरोप छ ।