इटहरीः मङ्गलबारको शेयर बजारमा लगानीकर्ता विकास बँैक र फाइनान्स कम्पनीमा झुम्मिएका कारण गति लिइरहेको हाइड्रोको परिसूचक सामान्य घटेको छ भने समग्र शेयर बजारमा भने हरियाली छाएको छ ।
निरन्तर बढेको शेयर बजार परिसूचक नेप्से मङ्गलबारको कारोबारबाट झण्डै ५२ अङ्कले बढेर ३१६१ दशमलव ५६ अङ्कमा कायम भएको छ । नेपालको शेयर बजारमा यो हाल सम्मकै उच्च विन्दु हो । परिसूचक बढेसँगै नेप्से परिसूचक जनाउने सेन्सेटिभ इन्डेक्समा पनि १२ अङ्कको वृद्धि देखिएको छ । मङ्गलबारको कारोबारमा फाइनान्स र विकास बैंकका क्षेत्रमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ भने जलविद्युत समुहको कारोबारमा केही कमी आएको छ । विगत केही दिनदेखि निरन्तर जलविद्युत समूहको कारोबार फस्टाउँदै आएको थियो । मङ्गलबार भने यस समूहको समूहगत परिसूचकमा शुन्य दशमलव ७ अङ्कको गिरावट आएको छ । उता, विकास बैंक समूहको परिसूचकमा ८ अङ्कको र फाइनान्स समूहको परिसूचकमा ६ दशमलव ७८ अङ्को सुधार देखिएको छ । समूहगत परिसूचकमा पनि मङ्गलबार १० वटा समूहको परिसूचक हरियाली छ । सामान्य घाटा व्यहोर्नेमा होटल एण्ड टुरिजम, ट्रेडिङ्ग र जलविद्युत समूह छन् ।
राम्रो कारोबार गर्नेमा बेस्ट फाइनान्स, इन्भेस्टमेन्ट फाइनान्स, आईसीएफसी फाइनान्सलगायत छन् । यी कम्पनीको मूल्यमा १० प्रतिशतभन्दा ठूलो वृद्धि भएको छ । यो दिन सान्जेन जलविद्युत, सिनर्जी पावर, खानीखोला हाइड्रो, पञ्चकन्या माई हाइड्रो, घलेम्दी हाइड्रो लगायतका कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने यसका लगानीकर्ता नोक्सानमा पुगेका छन् । आज नेप्सेमा १७ अर्ब ८४ करोड , ६१ लख ४७ हजार २ सय ७९ रुपैयाँ बराबरका ३३ करोड ५३ लाख ५ हजार २ सय १३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।