इटहरीः कहिले बोलेर त कहिले विभिन्न कामले विवाद तथा चर्चामा आउने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले फेरि डोजर आतङ्क सुरु गरेर सोही परिपार्टी दोहोर्याएका छन् ।
मेयर चौधरीले मंगलबार उपमहानगरको खनारनजिकै एक व्यवसायीले बनाउँदै गरेको कम्पाउन्ड वाल भत्काएका छन् । नहरको जमिन मिचेर संरचना बनाएको भन्दै मेयर चौधरीले नगर प्रहरी, दमकल, डोजर (स्काभेटर) र नेपाल प्रहरीसहित त्यहाँ पुगेर भर्खरै लाउँदै गरेको कम्पाउन्ड वाल भत्काएका हुन् । उनले अब आफू पुनः ‘एक्सन’मा उत्रिएको भनेका छन् । अन्य ठाउँबाट पनि सार्वजनीक जग्गा मिचेको भन्ने गुनासो आएकाले ती ठाउँमा पनि यस्तै हुने उनले जिकीर गरेका छन् । तर कुन ठाउँमा कहिले गर्ने भन्ने कुरा गौण राख्ने उनको भनाइ छ । आफूले काम गर्नेबारे थाहा भए अदालतले ‘स्टे अडर’ जारी गर्ने भएकाले आफू सोझै ‘एक्सन’मा उत्रिने चेतावनी मेयर चौधरीले दिएका छन् ।
‘कहाँ कहाँ हान्ने भनेर अहिले भन्ने होइन’, मेयर चौधरीले भने, ‘मेयरले यहाँ एक्सन गर्दैछ भन्ने थाहा पायो भनेचाहिँ स्टे अर्डर आइहाल्छ । यथास्थितिमा रहन दिनु नभत्काउनु भनेर ।’ उनले आफू जुनसुकै समयमा पनि एक्सनमा उत्रिने बताएका छन् । मेयरले चौधरीले खनार चौकबाट भित्री बाटो हुँदै इटहरी चौकसम्म आउने सडकमा कल्भर्ट बनाएको तर केहिले त्यसलाई थुनिदिएका कारण धेरै बस्ति जोखिममा परेको बताएका छन् । ‘माफियाहरुले कल्भर्ट थुनिरहेका छन्’, मेयर चौधरीले भने, ‘त्यसैले यो दक्षिणतिरको (खनारबाट इटहरी जाने सडकभन्दा दक्षिण) १२, १३ र १४ का (वडा नम्बर) बस्तिहरु डुबानमा परे ।’ निजी स्वार्थमा भइरहेको नदी तथा ढलहरुको प्राकृतिक बहावलाई मिच्ने प्रवृत्तिले इटहरीका धेरै भू–भाग डुबानमा परेको उनको दाबी छ । साथै इटहरीका व्यवसायीले बनाउन लागेको रिसोर्टका विषयमा उपमहानगरसँग अनुमति नै नलिई र कानुनी प्रावधान पूरा नगरेकाले डोजर चलाएको बताएका छन् ।
‘ट्याङग्रा खोलामा ठूलो बाढी आयो, त्यो ओभर फ्लो भएर बस्तिहरु जलमग्न भए’, उनले भने, ‘मैले निरीक्षण गरँे यसको कारण के रहेछ भनेर । जुन प्राकृतिक बहाव छ, पानी, ढलहरु हामी थुनिरहेका छौँ ।’ उनले अगाडि थपे, ‘एउटाले रिसोर्ट बनाउन लागेको रहेछ । तर, नगरपालिकासँग कुनै अनुमति नलिइकन । त्यो बाटो ३० फुट छ । तर उसले अझै बाटो ५ फिट मिचेर पर्खाल लाको छ ।’ उपमहानगरपालिकाभित्र निर्माण भएका कुनै पनि संरचना निर्माण गर्दा नगरको स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था भए पनि उक्त रिसोर्टले कानूनी प्रकृया नै भंग गर्दै रिसोर्ट बनाउन लागेको मेयर चौधरीको आरोप छ । ‘हरेक संरचना निर्माण गर्दा उपमहानगरपालिकासँग अनुमति लिएर, नक्सा पास गरेर गनुपर्छ’, मेयर चौधरीले भने, ‘त्यो कुनै प्रकृया उनीहरुले अगाडि बढाएका थिएनन् । हामीले बोलायौँ, तपाईँसँग के के कागज इत्यादि छ, त्यस्तो छ भने पेस गर्नुस् भन्यौँ, केही रहेनछ । यसरी स्थानीय सरकार, नगरपालिकालाई हेप्ने ।’ आफू कार्यकाल सकिने दिनसम्म यसरी नै लागिपर्ने उनले चेतावनी दिएका छन् ।