इटहरीः नेपाल पूर्वाधार विकास बैंक निफ्राले प्रदेश १ को धनकुटास्थित भेडेटारमा निर्माणाधीन स्काई वाच टावरको निर्माण कार्य सम्पन्न गर्नका लागि कर्जा लगानी गर्ने भएको छ । 

वोस्टन ग्रुप नामक कम्पनीले निर्माण गरिरहेको नेपालकै पहिलो स्काई वाच टावरमा निफ्राले एकल लगानी गर्न लागेको बताइएको छ । निफ्राले भेडेटारसहित काठमाडौँको कमलादीमा निर्माण हुन लागेको स्काई वाच टावरमा समेत लगानी गर्न लागेको छ । अघिल्लो वर्ष मात्र ठूलो सङ्ख्याको साधारण शेयर बेचेर पोर्टफोलियो बलियो बनाएको निफ्रा पूर्वाधार विकासमा लगानी गर्ने मुलुककै पहिलो बैंक हो । राजधानिको कमलादीमा निर्माण हुने स्काई वाच टावर विदेशी शैलीमा बन्ने टावर भवन हो । यस टावरभित्र जिम, खाजा घर तथा मनोरन्जनको लागि चाहिने पूर्वाधारको निर्माण हुने बताइएको । भेडेटारमा निर्माण हुने भनिएको स्काई वाच टावर प्रदेश नम्बर १ कै पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको छ ।

पूर्वको विकसित शहर धरानबाट केही किलोमिटर मात्र उकालो चढेपछि पुगिने भेडेटारमा निर्माण हुने भनिएको टावर सार्वजनिक निजी साझेदारीमा बन्न लागेको बताइएको छ । भेडेटारको यो परियोजना प्रदेश १ सरकारको लगानी प्राधिकरण र परियोजना निर्माणकर्ताबीच भएको सम्झौता अनुसार बन्न लागेको हो ।