धरानः धरान उपमहानगरपालिकाले कार्यपालिका सदस्य एवं नगर खेलकुद विकास समितिका पूर्वसंयोजक सुवास राईको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरेको छ ।
उपमहानगरपालिकामा सोमबार शोकसभाको आयोजना गर्दै मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, शिक्षा तथा खेलकुद महाशाखा प्रमुख एवं निमित्त कार्यकारी अधिकृत रत्न कट्वाल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र खेलकुदकर्मीहरुले स्वर्गीय राईको तस्बीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । मेयर राईले कार्यपालिका सदस्य एवं नगर खेलकुद विकास समितिका संयोजक राईको असामयिक निधनले धरानलाई ठूलो क्षति पुर्याएको बताए । शोकसभामा सम्बोधन गर्दै मेयर राईले राजनितिक, सामाजिक तथा खेलकुद विकासको श्रेत्रमा राईको अतुलनीय योगदान रहेको बताए । धरानको खेलकुद क्षेत्रमा राईको अभाव खट्किरहने मेयर राईको भनाइ थियो ।
शोकसभामा उपमेयर, राजनीतिक दलका नेता, वडाध्यक्षहरु र खेलकुदकर्मीहरुले धरानमा राईले गरेको योगदानको बारेमा चर्चा गरेका थिए । वि.सं. २०२४ साल असार ८ गते मलेसियामा जन्मिएका राईको वि.सं. २०७८ साउन २२ गते निधन भएको हो । राई धरान १७ नम्बर वडामा २०४९ र २०५४ सालमा वडाअध्यक्षमा निवार्चित भएका थिए भने गोधुली क्लबका संस्थापक र धरान फुटबल क्लबका पूर्वअध्यक्ष पनि भएका थिए । उनी धरान उपमहानगरपालिकाको २०७४ सालको निर्वाचनबाट निर्वाचित कार्यपालिका सदस्य एवं नगर खेलकुद विकास समितिका संयोजक हुन् ।