इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका ७ बाट लागूऔषध गाँजासहित सिटी सफारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटाको शहीदभूमि गाउँपालिका ५ घर भई हाल सुन्दरहरैँचा नगरपालिका ५ मा डेरा गरी बस्ने २४ वर्षीय इमान राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आज दिनको ३ः३० बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिणतर्फ जादै गरेको राईले चलाएको को १ ह ७९८५ नम्बरको सीटी सफारी जाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला परेपछि राईको कोठामा खानतलासी गर्दा लागूऔषध गाँजा ७ केजी ९८४ ग्राम बरामद गरिएको हो । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।