इटहरीः सोमबारको शेयर बजार सामान्य अङ्कले बढेर बन्द भएको छ । ठूलो संख्यामा ट्रेडिङ्ग नभएपनि कारोबार रकम भने १४ अर्बभन्दा माथि नै छ ।

कम्पनीहरुले हालै सकिएको आर्थिक विवरणहरु सार्वजनिक गरिरहेको अवस्थामा लगानीकर्ताहरु बजारलाई दिशा दिनभन्दा पर्ख र हेरको अवस्थामा रहेको विष्लेशण गर्न थालिएको छ । केहि कम्पनीहरुले आर्थिक अवस्थाको चित्रण सार्वजनिक गरिसकेका छन् भने कतिपय कम्पनीका विवरणहरु आउने क्रममा छन् । कुन कम्पनीमा लगानी गर्दा राम्रो लाभ लिन सकिन्छ भन्ने कुरा लगानी गर्ने कम्पनीको विवरण हेरेर मात्र लगानीकर्ताले निर्णय लिने भएकाले बजारलाई स्पष्ट दिशा दिन यी विवरणको महत्वपूर्ण भूमिका हुने गर्छ । कोरोनाको महामारीलाई लक्षित गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गत आर्थिक वर्षको वित्तीय विवरण साउन महिनाको अन्त्यसम्ममा प्रकाशन गर्न भनेको छ भने अन्य क्षेत्रका कम्पनीहरुले भटाभट आफ्नो विवरण सार्वजनिक गरिरहेका छन् ।

सोमबारको शेयर बजारमा अघिल्लो दिनभन्दा १ दशमलव ५४ अङ्कले वृद्धि भई ३१०९ दशमलव ६६ अङ्कमा कायम भएको छ । परिसूचक जनाउने सेन्सेटिभ इन्डेक्समा भने आइतबारको तुलनामा २ दशमलव ०५ अङ्कले गिरावट आएको छ । सोमबार २ सय २४ कम्पनीका १ लाख २८ हजार ९ सय ५९ कारोबार भए भने २ करोड ५३ लाख ९३ हजार कित्ता शेयर १४ अर्ब १३ करोड ७३ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । सोमबारको कारोबारमा युनियन हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, कर्पोरेट डेभलपमेन्ट बैंक, आइसिएफसी फाइनान्स, जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स कम्पनी, युनाइटेड मोदी हाइड्रोको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसैगरी कारोबार रकमका हिसाबले भने अपी पावर कम्पनी, तामाकोसी र सिनर्जी हाइड्रोको उच्च कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जमा रहेका १३ उपसमूहमध्ये ५ उपसमूहको कारोबार सुचकाङ्कमा हरियाली छ भने बाँकी उपसमूहको कारोबार घटेको छ ।