इटहरीः लगानी गरेको छाटो समयमै हाइहाई भएको चन्द्रागिरि हिल्स कम्पनी लिमिटेडको प्रतिशेयर आम्दानी गत वर्षको तुलनामा ६ रुपैयाँले बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष ७६÷७७को वित्तीय विवरण अनुसार अघिल्लो असार मसान्तमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७२ पैसा रहेकोमा यो असार मसान्तमा त्यो रकम बढेर १६ रुपैयाँ ५५ पैसा कायम भएको छ । गत वर्षको मंङ्सिर पुस महिनामा साधारण शेयर निष्कासन गरेर बिक्री गरेको चन्द्रागिरि हिल्स कम्पनीको शेयर मूल्य उत्ताउलो तरिकाले बढेर हाइहाई भएको थियो । अहिले पनि कम्पनीको प्रतिशेयर बजार मूल्य १ हजार ५ सय ५ रुपैयाँ छ । कम्पनीको प्रतिशेयर सम्पत्तिको मुल्य भने २ सय ४२ रुपैयाँ हुन आउँछ । कम्पनीको वित्तिय विवरण अनुसार कम्पनीको कुल आयमा ४७ प्रतिशतले गिरावट आएको छ । असार मसान्त सम्मको आय विवरण अनुसार कम्पनीले नाफा गर्न सकेको भएता पनि अघिल्लो वर्षहरुको तुलनामा कम मात्र आयआर्जन भएको बताएको छ ।

खर्च व्यवस्थापनलाई मितव्ययी बनाउँदै कम्पनीले हुन सक्ने अप्रत्यासित नोक्सानीलाई न्यूनीकरण गरिरहेको विवरणमा उल्लेख गरेको छ । एक सय रुपैयाँमा खरिद गरेको चन्द्रागिरि हिल्सको शेयर मूल्य प्रतिकित्ता २ हजार ८ सयसम्म पुगेको थियो । कम्पनीले नगद तथा डिभिडेन्ड नदिए पनि साविक शेयर धनीले शेयरबाट मात्र पनि राम्रो कमाइ गर्न सफल भएका छन् । तथापि, व्यवसायबाट भने अघिल्लो आर्थिक वर्षको भन्दा बिक्री र नाफा दुवै कम छ । अघिल्लो आर्थिक वर्षमा कुल आम्दानीबापत ३५ करोड ११ लख ५६ हजार रुपैयाँ कमाएको कम्पनीले यो आर्थिक वर्षको सोही अवधिमा १८ करोड ६७ लाख ४४ हजार रुपैयाँ कमाएको छ । जुन कोरोना महामारीका बीच व्यापारमा आएको नोक्सानको परिणाम हो ।