इटहरीः साताको पहिलो दिन आइतबारको कारोबारबाट नेपालको शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ भने कारोबार पनि राम्रो भएको छ । 

कारोबारका दौरानमा ३१२० अङ्कभन्दा माथि गएको परिसूचक बजार बन्द हुने समयमा भने ३१०८ अङ्कमा पुगेर रोकिएको छ जुन अघिल्लो कारोबारको तुलनामा सामान्य वृद्धि हो । कारोबारका हिसाबले आइतबार १४ अर्ब ३० करोड रुपैयाँभन्दा माथिको शेयर कारोबार भएका छन् । गत बिहीबार समूहगत परिसूचक राताम्य हँुदा घटेको बजार आइतबार भने सुधारात्मक दिशामा देखिएको छ । जलविद्युत र विकास बैँक समूहको परिसूचकमा हरियाली भएको बेला वाणिज्य बैँक समूहले पनि हरियालीलाई नै पछ्याएको छ । हाइड्रोपावर सेक्टरका कम्पनीको मूल्य भने अत्याधिक रुपमा बढेपछि बारम्बार नेप्सेमा सर्किट लागिरह्यो । दिनभरको कारोबारबाट मुख्य रुपमा शेयरको भाउ बढाउने सबै कम्पनी जलविद्युत समूहका रहे ।

बैंकहरुमा अधिक मात्रामा पैसा जम्मा भएपछि बचतको ब्याज घटेको छ । फलस्वरुप लगानीकर्ताहरु बैंकको पैसा निकालेर शेयरमा होमिएकाले बजारमा राम्रो सुधार भएको विष्लेशकहरुको भनाइ छ । जसका कारणले बजारमा नयाँ लगानीकर्ताको भीड देखिने गरेको छ । आइतबार २ सय २७ कम्पनीका २ करोड ६९ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएका छन् । कारोबारका हिसाबले अपी पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, र युनिभर्सल पावर कम्पनीले आइतबार अग्रणीमा नाम लेखाएका छन् ।