इटहरीः २०७६ साल पौष २४ गते इटहरी उपमहानगरपालिकाको कार्यालय हाताभित्र निर्माण सरु भएको ‘स्मार्ट शौचालय’ अझै निर्माण सम्पन्न भएको छैन ।
प्रदेश १ का १४ जिल्लासँग सडक सञ्जालबाट प्रत्यक्ष सम्बन्ध जोडिएको इटहरीमा सार्वजनिक शौचालय बन्ने कुरा हुँदै आएको थियो । कागजी रुपमा घोषणा मात्र भएको भन्दै धेरैले बन्ने आशा मारेको यो शौचालय आजभन्दा डेढ वर्षअगाडि सुरु त भयो, तर अहिलेसम्म सम्पन्न भने हुन सकेको छैन । निर्माण सुरु भएको दिन उपमहानगरका इन्जिनियर जीवन घिमिरेले ‘यही आर्थिक वर्ष (आ.व २०७६÷०७७) मा शौचालय निर्माण सम्पन्न हुनेछ’, भनेका थिए । अहिले आ.व २०७७÷०७८ पनि सम्पन्न भएर आ.व २०७८÷०७९ सुरु भएको छ । तर यो शौचालयले पूर्णता भने पाएको छैन । शौचालय अत्याधुनिक स्मार्ट र वायो प्रविधिको हुने भएकोले त्यहाँबाट उर्जासमेत निकाल्न मिल्ने बताइएको थियो । अहिले शौचालय निर्माण नै दुर्घटनामा परेकाले त्यसबाट उर्जा निकाल्ने कुरा त राम जाने ! अझ शौचालयमा सेन्सर प्रविधि जडान गरिने कुरा त नगरेकै बेस भन्नुपर्ने अवस्था आएको छ ।
प्रदेशको मुख्य शहर भएकाले यहाँ शौचालको विषयले निर्वाचनताका खुब चर्चा पाउँछ । चाहे त्यो स्थानीय तह, प्रदेश र संघीय सरकारको चुनाव होस् वा उद्योग वाणीज्य संघको चुनाव । स्थानीय तहको निर्वाचनपछि आएका जनप्रतिनिधिले सार्वजनिक शौचालय बनाउन चासो त देखाए । तर खोइ कुन्नी के मिलेन, सुरु गर्ने आँटै गरेनन् । बल्लबल्ल २०७५ साल भदौ ९ गते उपमहानगरकी उप–प्रमुख लक्ष्मी गौतमको संयोजकत्वमा एक समिति बन्यो । इटहरीमा ‘शौचालय निमार्णको लागि जग्गा खोज्ने र सम्भाव्यता अध्ययन गर्ने’ भनी ७ सदस्य समिति बन्यो । त्यो समितिमा वडा नं ४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराई, ६ का दीपक गौतम, ९ का भूपेन्द्र बराल, शाखा अधिकृत विजय मगर, वरिष्ठ इञ्जिनियर अर्जुन दाहाल सदस्य छन् । यस्तै समितिको सदस्य सचिवमा उपमहानगर वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरी सदस्य सचिव छन् ।