इटहरीः सरकरले स्वास्थ्य बीमाअन्तर्गत नागरिकलाई सुलभ शुल्कमा स्वास्थ्योपचार प्रदान गर्ने उद्देश्यका साथ सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा बीमा गर्नेहरुले अहिले सास्ति भोग्नु परेको छ ।
सुरुमा स्वास्थ्य बीमाबाट स्वास्थ्य सेवा पाउन सहज भएपनि हाल आएर सास्ति भोग्नु परिरहेको उनीहरुको गुनासो छ । ‘स्वास्थ्य बीमा एकदम झन्झटिलो छ’, स्वास्थ्य बीमाको रेफर लिन इटहरी अस्पताल आएका मणिन्द्रप्रसाद तिम्सिनाले भने, ‘अघिल्लो वर्ष के थियो भने, हामीले एक पटक रेफर लाँदा एक वर्षलाई हुन्थ्यो । अस्ति असार २१ गतेदेखि नेपाल सरकारले ७÷७ दिनमा रेफर लिएर जनुपर्ने भएको छ । यसले झन्झ भएको छ । अगाडि उनले थपे, ‘मानौँ एउटा बिरामीलाई नौ दिनसम्म हस्पिटलमा लगेर राख्नुपर्ने भयो भने फेरि रेफर लिन आउनुपर्ने भएको छ । यसले त हामीलाई झन् समस्या भएको छ ।’ उनको जस्तै गुनासो छ, इटहरीसहित सुनसरी र देशभरका स्वास्थ्य बीमा गर्नेहरुको यो बेला । धेरैले सरकारको स्वास्थ्य बीमाले नागरिकलाई सहज भएको भन्दै प्रशंसा पनि गरेका छन् । तर, पछिल्लो स्वास्थ्य बीमामा लागु भएको नियमले यसप्रति लोकप्रियता भन्दा गुनासो बढेको पाइएको छ । वर्षाको झरी र तातो घाममा स्वास्थ्य बीमाको रेफर लिनेको लाइन इटहरी अस्पतालमा दिनभरजस्तै हुने गर्छ । कतिपय त, लाइन बस्न नसकेर रेफर नै नलिई जाने गरेका छन् ।
‘राम्रोका लागि भनेर स्वास्थ्य बीमा गरेको, तर यहाँ त लाइन मात्र बसेर समय सकिँदो रहेछ’, रेफर लिन इटहरी अस्पतालमा आएका एक बिरामीका आफन्तले भने, ‘७÷७ दिनमा रेफर लिन आउँदा बिरामी र हामीलाई पनि समस्या भएको छ । यसले झन् अप्ठ्यारो भएको छ हामीलाई ।’ यो नियमले समस्या भएको भन्दै प्रायःले पूर्ववत अवस्थामा नै स्वास्थ्य बीमाको रेफर गर्ने नियम लागु गर्नुपर्ने माग गरेका छन् । ‘यस्तो तातो घामा दिनभर बस्दा हामीलाई समस्या भएको छ’, इटहरी अस्पतालमा लाइन बसेकी एक महिलाले भनिन्, ‘अब एक वर्षको लागि रेफर हुनुपर्यो । यस्तो हप्ता हप्तामा त हामी सक्दैनौँ ।’ कोरोना महामारीको समयमा भीडभाडसहित लाम लागेर बस्दा कोरोना सर्ने खतराले समेत उनीहरुलाई पिरोल्न थालेको छ । ‘यसरी हामी साथी–साथी सँगै बस्दा कोरोना सर्यो कि सरेन ?’, एक युवाले भने, ‘झन् यसरी त हामी रोगबाट निको हुनेभन्दा रोग सर्ने खतरा पो भयो त ।’ सरकारले पूर्ववत नियम लागु गर्न नसके पनि बिरामी अस्पतालमा पूगेपछि नफर्केसम्मको लागि एउटै रेफरले पुग्ने बनाउन सेवाग्राहीको माग छ । यसो गरे भीडभाड कम हुने र आफूहरुलाई पनि सहजता हुने उनीहरुको बुझाइ छ ।
यो समस्या अस्पतालहरुले गर्दा नभएर सरकारकै नियमले गर्दा भएको अस्पतालहरु बताउँछन् । यदि नियामक निकायबाट नियम सच्याइए सोही बमोजिम काम गर्न आफूहरुलाई कुनै समस्या नभएको इटहरी अस्पतालका प्रशासन अधिकृत सन्तोष ढकालको भनाइ छ । ‘स्वास्थ्य बीमा अन्तर्गतको कार्यक्रम जति पनि जिल्लाहरुमा सञ्चालित छ, यसको लागि चाहिँ सरकारले अहिले आफ्नो पायक पर्ने अस्पतालबाट अन्यत्र जाँदा रेफर लानुपर्ने नियम बनाएको छ र त्यो रेफरको समय पनि ७ दिनको मात्र हुने भनेको छ’, प्रशासन अधिकृत ढकालले भने, ‘सात दिनपछि उसले (बीमा गर्नेले) कतै जानुपर्ने भयो, औषधि नै लिन जानुपर्ने भयो भने यहाँबाट अनिवार्य रेफर लिएर जानुपर्ने हुन्छ । यो माथिबाट नै भएको हो ।’ यस्तै स्वास्थ्य केन्द्रका अहिले बीमा कार्यक्रममा समावेस भएका औषधि पनि अभाव हुन थालेको छ । ‘स्वास्थ्य बीमाअन्तर्गत हामीले बीमाकै रेट अनुसार नै औषधि किन्छौँ र दिन्छौँ’, प्रशासन अधिकृत ढकालले भने, ‘अहिले चाहिँ औषधि कम–कम भएको छ । त्यसको लागि हामी नयाँ खरिद प्रकृया अपनाएर चाँडै नै खरिद गर्छौँ ।’
इटहरी अस्पतालमा स्वास्थ्य बीमा गर्नेहरुले बढी मात्रामा डाइबेटिज, कोलेस्ट्रोल, सिओपीडी र दमको औषधि लैजाने गरेको इटहरी अस्पतालको स्वास्थ्य बीमा तर्फको फार्मेसीका इन्चार्ज बिमल खतिवडाले बताए । ‘यी औषधिसँगै मानिसहरु कस्तो रोगको आउनुहुन्छ र उहाँहरुलाई कुन औषधि चाहिन्छ, यहाँ भएको दिन्छौँ, नभएको किनेर ल्याउँछौँ’, खतिवडाले भने, ‘स्वास्थ्य बीमाले हामीले क्लेम गरेको (माग गरेको) २÷३ महिनामा मात्रै औषधि हाल्दिन्छ । त्यही भएर अहिले पर्याप्त औषधि नभएको हो ।’ जति मात्रामा स्वास्थ्य बीमाले खरिदका लागि रकम दिएको हुन्छ सो बराबरको आफूहरुले खरिद गरिहेको उनी बताउँछन् ।