इटहरीः न्यादी हाइड्रोपावर कम्पनीको पहिलो धितोपत्र निष्कासन अन्तर्गतको साधारण शेयर भदौ १ गतेबाट बिक्री खुल्ला हुने भएको छ ।
कम्पनीले पहिलो निष्कासन अन्तर्गतको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई शेयर बिक्री गर्न लागेको हो भने आयोजना प्रभावितको शेयर निष्कासन र बाँडफाँटपछि सर्वसाधारणलाई शेयर बिक्री खुल्ला गर्ने छ । लमजुङ्ग जिल्लाको बाहुनडाँडामा ३० मेगावाटको रन अफ दी रिभरको प्रोजेक्स सञ्चालन गरिरहेको न्यादी हाइड्रोको मुख्य स्टक होल्डरको रुपमा बुटवल पावर कम्पनी र लमजुङ्ग विद्युत विकास कम्पनी रहेका छन् । न्यादीले खुलाएको प्रथम चरणको धितोपत्र तिनै स्टेक होल्डर र कम्पनीले गरेको वातावरणिय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार अतिप्रभावित क्षेत्र लमजुङ्गको मस्र्याङ्गदी गाउँपालिका वडा नम्बर ३, साविकको खुदी गाविस वडा नम्बर १,२,३ र ६ साथै मस्र्याङ्गदी गाउँपालिका साविकको बाँहुनडाँडा गाविस र साविकको भुलभुले गाविसको सम्पूर्ण वडाका स्थानीय बासिन्दाका लागि ५ लाख, लमजुङ्ग जिल्लाका सम्पूर्ण सर्वसाधारणको लागि १० लाख कित्ता र स्टेक होल्डरको रुपमा रहेका सँस्थापकका कर्मचारीहरुका लागि ३ लाख कित्ता गरी जम्मा १८ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
पहिलो चरणमा निष्कासन हुने यो १८ लाख कित्ताको अङ्कित मूल्य भने १ सय रुपैयाँ मात्र रहनेछ । न्यादीको यो शेयर लमजुङ्गवासीले एनएमबी बैंकको बँेसीशहर शाखा, सिभिल बैंकको भुलभुले शाखा र ग्लोबल आईएमई बैंकको बेँसीशहर,उदिपुर, दोर्दी, भालेटार, सुन्दरबजार, भोटेओडार शाखा कार्यलयबाट आवेदन दिन सकिने कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बताएको छ । धितोपत्र छिटोमा भदौ महिनाको १५ गते र ढिलोमा भदौ भहिनाको ३० गतेसम्म बिक्री खुल्ला रहने बताइएको छ भने न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म शेयर माग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।