विराटनगरः प्रदेश नम्बर–१ का सांसदले विकास निर्माणको अनुगमन र नामको विषयमा प्रदेश सरकार गम्भीर बन्न नसकेको बताएका छन् ।
आइतबारको प्रदेशसभा बैठकमा नेकपा (एमाले)का सांसद विमल कार्कीले उदयपुरको त्रियुगा नदीमाथिको पुल यो वर्षको बाढीले बगाएको र ११ मध्ये चारवटा स्लाब भत्काएको सदनसमक्ष जानकारी गराए । उनले भने, “सरकारले प्राविधिक छानबिन गरिरहेका छौँ भनिरहेको छ । यसको सत्यतथ्य पत्ता लगाउन जाँचबुुझ कमिटी बनाउन माग गर्दछु ।”
त्रियुगा पुल नौ करोड ७६ लाख रुपैयाँमा सम्झौता भएकोमा पाँचौँ संशोधन भई यसको लागत ११ करोडभन्दा बढी पुगेको कार्कीले बताए । उक्त पुलको लम्बाइ ३०७ मिटर र चौडाइ पाँच मिटर रहेको छ ।
कार्कीले प्रदेश सरकारले निर्माण गर्ने पुल धेरै महँगो हुने गरेको भन्दै यसबारे संसदीय समिति गठन गरेर छानबिन गर्नुपर्ने सुझाव दिए । “धेरै पुलहरु न्यूनतम ४० करोडभन्दा बढी लागतका रहेछन् । यो खोजी, अनुसन्धानको विषय भएको छ,” उनले भने । उनले यस्ता विषय संसदीय समिति गठन गरी छानबिन गर्न माग गरे ।
जनता समाजवादी पार्टी (जसपा)की सांसद राधा थापाले ग्रामीण भेगसम्म कोरोनाको नयाँ भेरियन्टको संक्रमण फैलिएकोले समस्यामा परेका संक्रमितको उपचार तथा परीक्षणको दायरा बढाउन सरकारसमक्ष माग गरिन । उनले भनिन्, “कोभिड–१९ को भेरियन्टले गाउँमा कोरोना फैलिएको छ । परीक्षण नहुने र उपचार गर्न पाएका छैनन् । सिटामोलको भरमा जनता छन् ।”
नेपाली कांग्रेसका सांसद लोकप्रसाद संग्रौलाले प्रदेशको ‘नाम, ठाम र दाम’ केही हुन नसकेको बताउँदै के कारणले नाम ल्याउन छेक्यो ? भन्दै प्रश्न गरे । “तदारुकताका साथ किन पहल हुँदैन । नाम र ठाम नभएका हामी, लामो समयदेखि बन्दै गरेको प्रदेशसभा हललाई हेर्दा कभर्डहलजस्तो पो रहेछ । कुन इन्जिनयरिङबाट बनेको हो जस्तो लाग्यो,” उनले भने ।
सांसदलाई बैठकसम्म आउन सफारी रिक्सा प्रयोग गर्नुपर्ने बाध्यता भएको भन्दै यातायात खर्च र भत्ता किन नदिएको ? भन्दै प्रश्न गरे ।
कांग्रेस सांसद सन्जाकुमारी दनुवारले प्रदेशसभा हल निर्माण अति नै सुस्त भएको बताइन् । -बाह्रखरीबाट