इटहरीः मोरङको विराटनगर महानगरपालिका १२ रोडशेष चौकस्थित संगम गीत गजलबाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा रेस्टुरेन्टमा छापामारी गर्दा रेस्टुरेन्टका सञ्चालक विमल मुखियासहित १२ जना जुवाडे पक्राउ परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार प्रदेश प्रहरीको ब्युरो टोली र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । रेस्टुरेन्टमा राति ९ः०० बजेसम्म गीत गजलको प्रस्तुति हुने गरेको र त्यसपछि जुवा खेलाइने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । पक्राउ परेका अभियुक्तहरुउपर जुवा ऐनअन्तर्गत कारबाहीका लागि हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।