इटहरीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जापान सरकारबाट अनुदान सहयोगस्वरुप उपलब्ध गराएको कोरोना विरुद्धको एस्ट्राजेनेका खोप नेपाल ल्याउने कार्यलाई तिव्रता दिएको छ ।

१६ लाख डोज खोप अनुदान पाएकोमा हिजो मात्र पाँच लाख १३ हजार चार सय २० डोज खोप नेपाल भित्र्याएको मन्त्रालयले आज थप तीन लाख ३१ हजार डोज ल्याउने तयारी गरेको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई जापान सरकारले दिएको खोप कतार एयरवेजको विमानबाट आज दिउँसो नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए । जापानले दिएको अष्ट्राजेनेका खोप भोलि देखि लगाउन सुरु हुनेछ ।

भुटानबाट गएको शुक्रबार ल्याइएको दुई लाख ३० हजार र जापानबाट आउन लागेको खोप यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दिइने भएको छ । साउन २५ गतेदेखि सञ्चालन हुने खोप अभियानका क्रममा करिब १३ लाख ५० हजार ज्येष्ठ नागरिकले खोप पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।