इटहरीः कोरोना भाइरसको महामारीका बीच भोजपुरमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन तिव्र रुपमा भइरहेको छ ।

पहिलो चरणमा पाँच हजारभन्दा बढी सर्वसाधारणको विवरण संकलन गरी कोरोना महामारीका कारण स्थगित भएको विवरण संकलन अभियान अहिले स्थानीय तहबाटै पुनः सञ्चालनमा ल्याइएको छ । विवरण संकलनका क्रममा हस्तलिखित हस्ताक्षर, १० औँलाको औँठाछाप, आँखाको रेटिनालगायत व्यक्तिको वैयक्तिक र जैविक सूचना संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार विवरण संकलन गरिसकेपछि परिचयपत्र उपलब्ध गराइनेछ । पहिलो चरणमा भोजपुर नगरपालिका क्षेत्रका नागरिकको विवरण संकलन गर्न सुरु गरिएको प्रजिअ भण्डारीको भनाइ छ । सबै विवरण कम्प्युटर प्रविधिमार्फत् संकलन गरिएको हो ।

भोजपुर नगरपालिकाबाट सुरु भएको अभियान दोस्रो चरणमा पौवादुङमा गाउँपालिका र अरूण गाउँपालिका तथा तेस्रो चरणमा टेम्केमैयुङ गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सञ्चालन हुनेछ । परिचयपत्र प्राप्त गर्न नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाण पत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस, नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा बसाइसराइको प्रमाणपत्र प्रमाणका रुपमा देखाउनुपर्ने व्यवस्था गरिएको छ । एक स्थानीय तहको विवरण संकलन गर्न १५ दिन लाग्ने अनुमान गरिएको छ ।