इटहरीः संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज अपराहन्न १ः०० बजेका लागि आह्वान गरिएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बस्न लागेको बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयक पेस हुने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष २०७६÷०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदनसमेत आजै पेस हुने कार्यसूची तय भएको छ ।

यस्तै प्रधानमन्त्री देउवाका तर्फबाट ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ र ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ भने ‘विद्युत विधेयक, २०७७ पनि पेस हुन गइरहेको छ । विद्युत् विधेयक उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पेस गर्ने जनाइएको छ ।