इटहरीः पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको भोक्राहानरसिंह–४ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय हेमन उराउ रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार पूर्वतर्फ आउँदै गरेको को ८ प ४११५ नम्बरको मोटरसाइकल राति ८ः३० बजे आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार उराउ घाइते भएकोमा उनलाई उपचारार्थ सुनसरी जिल्ला अस्पताल इनरुवा लगिएकोमा उनको उपचारका क्रममा राति ९ः३० बजे ज्यान गएको हो ।

सोही दुर्घटनामा परी मोटरसाइकल चालक इनरुवा नगरपालिका–९ का ४० वर्षीय बाबुराम उराउको भने सामान्य अवस्थामा सोही अस्पतालमा उपचार जारी रहेको डीएसपी तिम्सिनाले बताए । दुर्घटनाको कारण तिव्र गति रहेको प्रारम्भिक अनुसन्धानले देखाएको बताउँदै प्रहरीले विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।