इटहरीः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को साउन ३१ गतेबाट हुने भनेको परीक्षा स्थगित गरेको छ ।

कोरोना भाइरसको कारण देखाउँदै राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको हो । बोर्डको यो निर्णयले विद्यार्थीलाई झनै अन्योलमा पारेको छ । विद्यार्थीहरुले परीक्षा स्थगितभन्दा पनि स्वास्थ्य सुरक्षाको प्रत्याभूतिको माग गरेका थिए । तर, बोर्डले परीक्षा नै स्थगित गरेको छ । यस निर्णयले आफूहरु चेपुवामा परेको विद्यार्थीहरु बताउँछन् । ‘एनइबीले यो पटक पनि परीक्षा स्थगित गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको छ भन्न चाहन्छु’, इटहरी घर भई विराटनगरमा कानुन विषय पढ्दै आएका कक्षा १२ का परिक्षार्थी मानवराज बरालले भने, ‘हामीले सिँगै एउटा यर(वर्ष) नै लस(गुमाएका) गरेका छौँ । केहीबाहेक भविष्यको चिन्ता गर्ने कसैलाई पनि यो निणर्यले खासै चित्त बुझेको छ भन्ने मलाई लागेको छैन ।’

studentd_For_taking_admitcard

परीक्षा यथास्थितिमा हुनुपर्ने वा पूर्ण रुपमा रद्द हुनुपर्ने माग उनको छ । कोरोना महामारीअघि कक्षा १२ को परीक्षा वैशाखसम्ममा सकिने गरेको थियो । विद्यार्थीहरुले साउनको अन्त्य र भदौको सुरुवातसम्ममा स्नातक तहमा भर्ना हुने गरेका भए पनि कोरोना महामारीले गत डेढ वर्षदेखि यो परम्परामा असर पर्दै आएको छ । गत वर्ष कक्षा १२ को परीक्षा मंसिरमा भएको थियो । यो वर्ष अझै अन्योलमा परेको छ । आगामी परीक्षा कहिले हुन्छ भन्नेबारे परीक्षा हुनुभन्दा १५ दिनअघि जानकारी गराउने बोर्डका अध्यक्ष प्राध्यापक डाक्डर चन्द्रमणि पौडेलले बताएका छन् । बोर्डको यो निर्णयले कक्षा ११ को परीक्षा पनि अन्योलमा परेको छ ।