इटहरीः नेपाली शेयर बजारले यो सातालाई इतिहासकै एक साताको रुपमा चिन्नेछ । यो साता नेपालको शेयर बजार इतिहासमै उच्च विन्दुमा पुग्न सफल भएको छ ।
३ हजार तथा त्योभन्दा तल्लो विन्दुमा तलमाथि गरिरहेको शेयर सूचकाङ्क यसै साताबाट तीन हजार एक सयको विन्दुमा पुगेको छ । योसँगै कारोबारका हिसाबले पनि सामान्यतया ११ अर्बदेखि १५ अर्बको दैनिक शेयर कारोबार हुनु नेपालको धितोपत्र बजारका लागि राम्रो कारोबार मानिन्छ । नेप्सेको सूचकाङ्क र कारोबार रकम दुवै माथि जानुलाई लगानीकर्ता र विष्लेशक दुवैले राम्रो मानेका छन् भने लगानीकर्तामा झनै उत्साह र हौसला बढेको छ ।
साताभरिको सेयर कारोबारको मूल्याङ्कन गर्दा बुधबार नेप्सेले ‘अलटाइम हाइ रेकर्ड’ कायम गर्न सफल भयो । बुधबारको नेप्से परिसूचक ३१२३ दशमलव ४५ अङ्कमा पुग्यो । साताभरको कारोबार हेर्दा लघुवित्त र हाइड्रोपावरका लगानीकर्ता मालामाल भए भने अन्य समूहको कारोबार सामान्य नै रहयो । साताको पहिलो दिनबाटै बजार बढेको थियो भने अन्तिम कारोबारसम्म सामान्य करेक्सनमै बित्यो ।आइतबार ३०८१ अङ्कमा रहेको परिसूचक सोमबार ३०८५, मंगलबार ३१११, बुधबार ‘अलटाइम हाइࢉ’ अर्थात ३१२३ हुँदै विहीबार ३१०७ अङ्कमा पुग्यो । कारोबारका हिसाबले औसत दैनिक १२ अर्ब हाराहारीको कारोबार हुँदै आएको छ । नेप्सेमा दैनिक औसत २२५ कम्पनीको शेयर खरिद बिक्री हुने गरेका छन् भने हप्तैपिच्छे नयाँ कम्पनीको सेयर सूचीकृत हुने क्रम पनि उत्तिकै छ । यसैसाता नेप्सेमा मनोकामना स्मार्ट लघुवित्त, जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सूचीकृत भई दोस्रो बजारमा खरिद बिक्री हुन थालेका छन् ।
कसले धेरै कमाए ?
साताको समग्र कारोबारमा धेरै कमाउनेमा जीवन विकास लघुवित्त वित्तिय सँस्थाका लगानीकर्ता रहेका छन् । जीवन विकासको शेयर मुल्य एकै सातामा ५२ प्रतिशतभन्दा बढीले बढेको छ भने घलेम्दी हाइड्रो,फस्ट माइक्रो फाइनान्स, कालिका पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, आँशुखोला जलविद्युत, खानीखोला हाइड्रो लगायतका कम्पनीका शेयरधनिले राम्रो कमाएका छन ।
कसले धेरै गुमाए ?
यो साताको कारोबारबाट चन्द्रागिरि हिल्स, गुडविल फाइनान्स, प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मुल्यमा गिरावट आएसँगै यसका लगानीकर्ताले केही गुमाएका छन् ।